
काठमाडौंमा कुन त्यस्तो रेस्टुरेन्ट छ, जसको साजसज्जा र परिकारले सधैं आगन्तुकलाई आकर्षित गरिरहन्छ ?
आफ्नो स्वाद र सुविधा अनुसार यसको जवाफ आ–आफ्नै ढंगले दिन सक्छन् । किनभने काठमाडौं वास्तवमा रेस्टुरेन्ट नै रेस्टुरेन्टको शहर पनि हो । यहाँ खाना पारखीहरूका लागि अनेक स्वादका व्यञ्जन उपलब्ध छन्— थाईल्यान्डको ‘तोमयाम सुप’देखि जापानको ‘सुशी’ सम्म; भियतनामी ‘फ’देखि चीनको ‘पेकिङ डक’ सम्म । थरीथरीका परिकार चाख्न विश्वको फन्को लगाउनै पर्दैन, काठमाडौंमा यी सबै उपलब्ध छन् ।
यहाँ न कुनै व्यञ्जनको अभाव छ, न रेस्टुरेन्टको । तपाईं हरेक पाइला–पाइलामा रेस्टुरेन्ट फेला पार्नुहुनेछ । असंख्य रेस्टुरेन्ट छन् यहाँ, जसले कुनै न कुनै परिकार पस्किरहेका छन् । रेस्टुरेन्टहरूको यो भीडमा त्यस्ता केही रेस्टुरेन्ट÷क्याफे छन्, जो आफ्नो विशेष व्यञ्जन, उत्कृष्ट सेवा–सुविधा र आकर्षक साजसज्जाका लागि चिनिएका छन् । अनलाइनखबरले यहाँ त्यस्तै १० लोकप्रिय रेस्टुरेन्ट-क्याफेको चर्चा गरेको छ, जसले हरदम आगन्तुकलाई लोभ्याइरहन्छन् ।
बावर्ची रेस्टुरेन्ट
स्थान : बबरमहल
विशेष व्यञ्जन : बिरयानी, कट्टी रोल
सम्पर्क नम्बर : ९८०१९७७४९१
शान्त वातावरण र मिठो खानाको लागि राम्रो रेस्टुरेन्टको खोजीमा हुनुहुन्छ भने बावर्ची रेस्टुरेन्ट तपाईंहरूको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ । विशेषगरी इन्डियन खानाको लागि लोकप्रिय यो रेस्टुरेन्टमा इटालियन र कन्टिनेन्टल खाना पनि पाइन्छ ।
माइतीघरबाट सिंहदरबार दक्षिण गेटतर्फ थोरै अघि बढेपछि बावर्ची रेस्टुरेन्ट भेटिन्छ । ऐतिहासिक राणा दरबारको भवनमा रहेको यो रेस्टुरेन्ट इन्डियन खानाको लागि एकदमै लोकप्रिय छ । सेलिब्रेटीहरूको पनि रोजाइमा पर्न सफल यो पारिवारिक रेस्टुरेन्ट हो । यो रेस्टुरेन्ट मिठो खाना र शान्त वातावरणको लागि विदेशी पर्यटकहरूमाझ पनि लोकप्रिय छ ।
मुल चोक रेस्टुरेन्ट
स्थान :– बबरमहल
विशेष व्यञ्जन :– स्लो कुक ल्याम स्यान्क
सम्पर्क नम्बर :– ०१–४२५९८०१
२०६७ मा स्थापना भएको मुल चोक रेस्टुरेन्ट कन्टिनेन्टल खानाको लागि लोकप्रिय हो । यहाँ पाइने खानाहरू प्रायः अस्ट्रेलियन स्वादका हुन्छन् । यहाँ पाइने अस्ट्रेलियन भेडा, ककटेल र वाइनहरू पनि अस्ट्रेलियाबाट नै आयात गरिन्छ ।
यहाँको एकदमै लोकप्रिय डिस ‘स्लो कुक ल्याम स्यान्क’ हो । जुन अस्ट्रेलियन भेडाको मासुबाट तयार हुन्छ । ठिक्क आगोमा ६ घण्टासम्म राम्ररी पकाएर त्यसपछि राम्ररी मैरिनेट गरेर सर्भ गरिन्छ जसले गर्दा यो डिसको नाम ‘स्लो कुक ल्याम स्यान्क’ राखिएको हो ।
यो एउटा पारिवारिक रेस्टुरेन्ट पनि हो । पहिला राणाहरूको घोडा राख्ने तबेलालाई नवीकरण गरेर ब्रिटिश डिजाइनमा रेस्टुरेन्ट बनाइएको छ । एकदमै शान्त वातावरण मन पराउने र कन्टिनेन्टल खाना पारखीहरूको लागि मुल चोक रेस्टुरेन्ट राम्रो विकल्प हुनसक्छ ।
द ओल्ड हाउस रेस्टुरेन्ट
स्थान : दरबारमार्ग
विशेष व्यञ्जन : ननभेज प्लाटर र भेज प्लाटर
सम्पर्क नम्बर : ०१–४२५०९३१
२०७० सालमा काठमाडौंको मुटु दरबारमार्गमा स्थापना भएको द ओल्ड हाउस फ्रेन्च र इटालियन परिकार पस्कने रेस्टुरेन्ट हो । यो रेस्टुरेन्टको स्थापना विशेषगरी विदेशी पाहुनाको लागि गरिएको थियो । यहाँ पाइने वाइन, ह्विस्की र रम सबै बाहिरबाट नै आयात गरिन्छ । तर पछिल्लो समय विशेषगरी कोरोनापछि यहाँ स्वदेशीहरूलाई पनि लक्षित गरेर केही परिकार समावेश गरिएको छ ।
नेपालमा पहिलो पटक रेस्टुरेन्टमा भर्टिकल गार्डेन सजावटको अवधारणा यही रेस्टुरेन्टले ल्याएको हो । यस रेस्टुरेन्टको सजावटको काम सबै फ्रेन्च इन्टेरियरहरूबाट भएको थियो । यहाँको सजावट र स्वादिलो खानाको कारण पनि यो रेस्टुरेन्ट एकदमै लोकप्रिय छ । ननभेज प्लाटर र भेज प्लाटर यहाँको एकदमै रुचाइएको डिस हो । शान्त वातावरण र भर्टिकल गार्डेनको सजावटले पनि धेरैको मन लोभ्याउँछ ।
उत्पला क्याफे
स्थान : बौद्ध
विशेष व्यञ्जन : मसरुम छोयला, मसरुम चिल्ली, चाट, चुकन्दर सुप
सम्पर्क नम्बर : ९८१०७००७६३
चार वर्षअघि स्थापना भएको उत्पला क्याफे शाकाहारीहरूको लागि उत्कृष्ट गन्तव्य हुनसक्छ । यो एउटा गुम्बाद्वारा सञ्चालित क्याफे हो । यहाँको विशेषता भनेको पारिवारिक वातावरण र शाकाहारी खाना हो । २०० भन्दा बढी क्षमता भएको यो क्याफे धूमपान र मद्यपान निषेधित क्षेत्र हो । यस क्याफेको अर्को मुख्य विशेषता भनेको मूल्य पनि हो । अन्य रेस्टुरेन्टहरूको तुलनामा यो क्याफेमा खानाको मूल्य कम छ । हरेक शुक्रबार र शनिबार यहाँ बोफेडको व्यवस्था गरिएको छ । ४५० रुपैयाँमा जति पनि खाना खान सक्छन् ।
उत्पलाले लकडाउनको कारण आफ्नो देश फर्कन नपाएका विदेशी नागरिकहरूलाई ६ महिना निःशुल्क खाना वितरण गरेको थियो । इन्डियन, इटालियन र नेपाली लगायत खानाको विविधता पाइने यो रेस्टुरेन्ट पछिल्लो समय शाकाहारीहरूको लागि एकदमै लोकप्रिय छ ।
रोजमेरी रेस्टुरेन्ट
स्थान : ठमेल
विशेष व्यञ्जन : चिकेन सुप्रिम, पोर्क स्टिक, काठमाडौं चिकेन,
सम्पर्क नम्बर : ०१–४२२६०६६
रोजमेरी रेस्टुरेन्टको स्थापना ११ वर्ष अगाडि भएको थियो । रोजमेरीको अर्को शाखा पोखरामा पनि छ । एसियन र युरोपियन दुवै परिकारको लागि लोकप्रिय यो रेस्टुरेन्टमा ६० प्रतिशत युरोपियन र ४० प्रतिशत एसियन खानाको फ्युजन पाइन्छ ।
रोजमेरी साधारण सजावट गरिएको पारिवारिक रेस्टुरेन्ट हो । यहाँ आउने ९० प्रतिशत मानिस सफा र मिठो खानाकै लागि आउने गर्छन् । सजावट भन्दा पनि खानाको गुणस्तर र स्वादमा बढी प्राथमिकता दिने यो रेस्टुरेन्ट पारिवारिक जमघटको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ ।
अरोइ थाई रेस्टुरेन्ट
स्थान : सानो गौचरन
विशेष व्यञ्जन : प्याड थाई नुडल्स, रेड करी, चिकेन पप्स, पपया स्यालेड
सम्पर्क नम्बर : ०१–४५१५५४४
अथेन्टिक थाई खानाहरूको लागि लोकप्रिय गन्तव्य हो, अरोइ थाई रेस्टुरेन्ट । सस्तो मूल्यमा मिठो थाई खाना पाइने भएकोले थाई खाना मन पराउनेहरूको रोजाइमा यो रेस्टुरेन्ट पर्ने गर्छ ।
चार वर्षअघि थाई वाकको नाममा स्थापित यो रेस्टुरेन्टको नाम दुई वर्षअघि अरोइ थाई रहन गयो । तर, अहिले पनि धेरै मानिस थाई वाकको नामले नै चिनेर यहाँ जाने गर्छन् । यहाँ आउने ९० प्रतिशत मानिस यहाँको खानाको स्वादकै कारण जाने गर्छन् । घरको जस्तो माहोल भएकोले गर्दा परिवार र साथीभाइहरूको जमघटको लागि पनि अरोइ थाई धेरैको रोजाइमा पर्ने गर्छ ।
मिठो रेस्टुरेन्ट
स्थान : ठमेल
विशेष व्यञ्जन : पनिर टिक्का, लाफिङ बुद्ध बल, चिकेन टिक्का
सम्पर्क नम्बर : ९८४१२११९३३९
नेपाली, इन्डियन, मोरक्कन लगायत डिसहरूको स्वाद चाख्न पाइने ठमेलको मिठो रेस्टुरेन्ट पनि काठमाडौंको लोकप्रिय रेस्टुरेन्टमै पर्छ । यहाँको सिलिङहरूमा झुन्ड्याइएको डोकोभित्र बालिएको बत्तीले पनि यहाँको माहोललाई आकर्षक बनाएको छ । नेपाली प्राकृतिक सजावट भएको यो रेस्टुरेन्ट प्राकृतिक वस्तु मन पर्नेहरूको रोजाइमा पर्ने गर्छ ।
शाकाहारी खानाको लागि पनि यो रेस्टुरेन्ट धेरैको रोजाइमा पर्ने गर्छ । यसलाई विश्वको खानाको स्वाद लिन पाउने ठाउँ पनि भन्न सकिन्छ । किनकि यहाँ एसियन र युरोपियनमा बढी रुचाइएको प्रायः सबै डिसहरू पाइन्छ । यहाँ पार्किङको पनि राम्रो व्यवस्था छ ।
नेवाः लहना रेस्टुरेन्ट
स्थान : कीर्तिपुर
विशेष व्यञ्जन : नेवारी खाजा, समयबजि
सम्पर्क नम्बर : ९८४१३३०५३३
१६ वर्षअघि नेवाः लहना रेस्टुरेन्ट कीर्तिपुरलाई नेवारी खाजा हब बनाउने उद्देश्यले स्थापना भएको थियो । यो रेस्टुरेन्ट एउटा समाजले बनाएको हो । यहाँ ७७ परिवारका १०९ जना सदस्य यस रेस्टुरेन्टको सेयर होल्डर छन् । समाजलाई आर्थिक रूपमा कसरी समुन्नत बनाउने भन्ने सोचका साथ यो रेस्टुरेन्ट खोलिएको थियो ।
नेपालकै सबैभन्दा राम्रो टोलमा अवस्थित यो रेस्टुरेन्टमा कार्यरत भएको कारण टोलमा बेरोजगार कोही छैन । रेस्टुरेन्ट वरपरको वातावरण नेवारी संस्कृतिले गर्दा पनि यहाँको खानाको स्वादलाई झन् बढाउँछ ।
लहनाको अर्को विशेषता भनेको यहाँ राँगाको सम्पूर्ण अङ्गको परिकार खान पाइन्छ । राँगाको मासुको २९ परिकार, समयबजि र छ्याङ रक्सी यहाँको विशेष व्यञ्जन हो ।
हजारौं जना अट्न सक्ने यस रेस्टुरेन्टमा बाइक पार्किङको लागि राम्रो व्यवस्था छ । नेवारी भोज कस्तो हुन्छ भनेर जान्न इच्छुक व्यक्तिहरूको लागि यो रेस्टुरेन्ट राम्रो गन्तव्य हुन सक्छ ।
नेपाली चुल्हो
स्थान : लाजिम्पाट
विशेष व्यञ्जन : नेपाली र नेवारी खाना
सम्पर्क नम्बर : ०१–४४१८२०६
नेपाली चुल्होको स्थापना २०५८ सालमा दरबारमार्गमा भएको थियो । १० वर्ष सेवा प्रदान गरिसकेपछि २०६८ मा यो लाजिम्पाटमा स¥यो । यहाँको विशेषता भनेको नेपाली खाना नै हो । नेपाली र नेवारी परिकारलाई प्रवर्धन गर्ने हिसाबले यो रेस्टुरेन्टको स्थापना भएको हो ।
यहाँ हरेक दिन साँझ २ देखि ३ घण्टा सांस्कृतिक कार्यक्रम पनि हुन्छ । यो रेस्टुरेन्ट भएको भवन एउटा राणाकालीन ऐतिहासिक दरबार हो । पाँच रोपनी क्षेत्रफलमा फैलिएको रेस्टुरेन्टको वातावरण पनि एकदमै मनमोहक छ । घरमा बसेर खाना खाएको जस्तो अनुभूति हुने भएकोले पनि धेरै नेपाली र विदेशीको रोजाइमा पर्न सफल छ । धेरै क्षेत्रफल ओगटेको यो रेस्टुरेन्टमा पार्किङको राम्रो व्यवस्था छ ।
रोड हाउस क्याफे
स्थान : ठमेल
विशेष व्यञ्जन : पिज्जा र इटालियन खाना
सम्पर्क नम्बर : ०१–५३६७८८५
पिज्जा पारखीहरूको लागि रोड हाउस क्याफे एउटा राम्रो विकल्प हुन सक्छ । ३० वर्षअघिदेखि ग्राहकको सेवामा खट्दै आएको रोड हाउसले काठमाडौं र पोखरामा ८ वटा ब्रान्चहरू खोलिसकेको छ । यस रेस्टुरेन्टमा पिज्जाको साथै इटालियन र कन्टिनेन्टल खाना पनि पाइन्छ । यो रेस्टुरेन्ट साथीभाइसँग जमघटको लागि राम्रो गन्तव्य हुनसक्छ । इटालियन थिम अनुसार डेकोरेसन भएको यो रेस्टुरेन्टमा पार्किङको पनि राम्रो व्यवस्था छ ।
प्रतिक्रिया 4