+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares
ब्लग :

बालेनले नबनाए कसले बनाउने यम बुद्धको सालिक ?

बालेन, मूर्ति र यम बुद्ध मिसिएर बनेको ‘त्रिवेणी’ महानगरको योजना किताबले गोप्य राखिरहन सक्ने कुरा थिएन । रहेन ।

सइन्द्र राई सइन्द्र राई
२०७९ असार २६ गते २०:१०

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले ‘आफ्नै तलब’ खर्चेर चर्चित र्‍यापर यम बुद्धको सालिक बनाउने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिबार बालेनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु …।’

मेयर बालेनले असार पहिलो साता ल्याएकोे २५ अर्ब ४१ करोड आकारको अनुमानित बजेटमै यम बुद्धको सालिक बनाउने (रु. १५ लाख विनियोजन) योजना समावेश थियो । तर त्यो निर्णय शुक्रबार बालेन आफैंले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेपछि भने चर्को आलोचना भयो । आलोचनाबाट बच्न बालेनले तत्काल निर्णय बदले– मेरै तलबबाट बनाउँछु यम बुद्धको सालिक ।

आलोचनाको जवाफमा ‘आफूले पाउने पारिश्रमिक खर्चेर सालिक बनाउँछु’ भन्नुले बालेनमा यो विषय नबढोस् भन्ने चाहना देखिन्छ । तर बालेनलाई सजिलै बजारले छोड्नेवाला छैन । यो निर्णयले यति धेरै चासो पाउनुमा पनि बालेन मेयर हुनु नै हो । यदि बालेनको ठाउँमा अरू कोही हुन्थे भने संभवतः रातारात निर्णय बदल्नुपर्ने वा बदलिने परिस्थिति नै सिर्जना नहुन सक्थ्यो ।

तर बालेन, मूर्ति र यम बुद्ध मिसिएर बनेको ‘त्रिवेणी’ महानगरको योजना किताबले गोप्य राखिरहन सक्ने कुरा थिएन । रहेन ।

बालेनका हरेक निर्णय चासोका साथ हेरिनुमा पनि उनकै पृष्ठभूमिले काम गरेको छ । यदि कुनै राजनीतिक दलबाट मेयर जितेका हुन्थे भने उनलाई अहिले जसरी चासोका साथ नहेरिन सक्थ्यो । तर राजनीति, चुनाव र सत्तालाई मुठ्ठीभित्रको खेल सम्झिने दलहरूलाई चकित तुल्याउँदै बालेनले मेयर जिते । पक्कै पनि सत्ताको नेतृत्व गरिरहेको पाँच दलीय गठबन्धन र बलियो संगठनात्मक संरचना रहेको एमालेका उम्मेदवार हराउनु सजिलो थिएन । तर गैरदलीय उम्मेदवारी दिएर पनि बालेनले राजधानी शहर काठमाडौंको मेयर जिते । त्यसपछि बालेन आमचासोमा पर्ने नै भए ।

बलियो राजनीतिक बिरासत बदल्ने असाधारण सफलता पाएका बालेन आफूलाई व्यक्तिमा मात्रै सीमित नराखेर फरक ‘सोच’का रूपमा परिभाषित गर्छन् । मेयर बन्ने चुनावी दौडकै क्रममा उनको दावी थियो– म उम्मेदवार बनिरहँदा राजनीतिप्रति युवा पुस्ताको आकर्षण छ ।

तर तिनै बालेनले सालिक बनाउने महानगरको निर्णय स–गर्व शेयर गरेपछि भने समर्थनको ठाउँ आलोचनाले भरियो । यसलाई पनि अस्वाभाविक मान्न मिल्दैन । किनकि दलहरूले गरेको गल्ती बालेनबाट नहोस् भन्ने अपेक्षा हुनु स्वाभाविक हो ।

निकट विगत हेर्दा पनि राजनीतिप्रति नागरिकमा वितृष्णा उत्पन्न हुनुपर्ने कारण मध्ये नेताहरूमा देखिएको सालिक/मूर्ति मोह एक हो । मान्छेका आधारभूत आवश्यकता भुलेर धार्मिक ग्रन्थ रामायण वर्णित राममन्दिर निर्माणलाई प्राथमिकतामा राखेको भनी तत्कालीन प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना भएको थियो । अझ नागरिक कोरोना महामारीको त्रासदीमा हुँदा पशुपतिनाथमा सुनको जलहरी चढाउने अपरिवर्तित अड्डीले ओली अलोकप्रिय बने । गैरकम्युनिष्ट नेताहरूमा मूर्ति र मन्दिर मोह सामान्य नै भयो ।

तर दलहरूकै विकल्पमा महानगरको मेयर अनुमोदित बालेनले पनि मूर्तिकै निर्णय प्राथमिकतामा राखे । संभवतः यम बुद्धको मूर्ति बनाउने निर्णय मेयर जित्नुअघि बालेनले गरेका बचनबद्धताको परिणाम हुन सक्छ ।

किनकि इन्जिनियरसँगै बालेनको पृष्ठभूमि र्‍यापर हो । र्‍यापर भएरै उनी बालेन्द्रबाट बालेन भए । बालेन भएरै मेयर जिते । त्यसपछि आफ्ना मार्गदर्शक र समर्थकप्रति ऋणी हुने नै भए । बालेनले पहिलो बजेटबाटै त्यो ऋण चुक्ता गर्न चाहे ।

अझ हिपहप विधामा यम बुद्धले जुन सम्मान पाएका छन्, बालेनको निर्णय कत्तिपनि अनौठो होइन । बरू हिपहप विधाबारे हामीसँग रहेको ‘दृष्टिदोष’ समस्या हो । किनकि यम बुद्धको सट्टा हनुमान, शिव, गणेश, बुद्ध, यलम्बर वा अरू कुनै धार्मिक ग्रन्थमा उल्लेखित पात्रको मूर्ति बनाउने निर्णय गरिएका थिए भने यो तहकै आलोचना नहुन सक्थ्यो ! आखिर बनिरहेकै छन्, अनेक मूर्तिहरू ।

संगीत क्षेत्रका हस्तीहरूको सालिक राजधानीदेखि मोफसलका चोकहरूमा छँदैछ, बन्दैछन् । नेपाली कांग्रेसले संस्थापक नेताहरूको मूर्ति कुद्न छोडेको छैन । नेताका मूर्ति थपिरहेकै छन् ।

मदन भण्डारीको मूर्ति कति बने भन्ने लगत सायद नेकपा एमालेसँग छैन । किनकि मदन भण्डारीप्रति एमालेमा अथाह सम्मान छ, सवाल गर्नलाई कुनै ठाउँ नै छैन । माओवादीले सशस्त्र विद्रोहमा प्राण गुमाएकाहरूको सालिक कति बनाए होलान् !

मधेश आन्दोलनमा सहादत पाएकाहरूको सालिकमा वर्सेनि श्रद्धाको फूल चढाइँदैछ । मूर्ति निर्माण र उचित तिथि बनाएर तिनको पूजा राजनीतिक इतिहासको अंश बनेको छ । नेपालमा मूर्ति निर्माण र पूजाको परम्पराले सम्भवतः शाह वंशीय शासनकालबाटै तीव्रता पायो । पूर्वराजाहरूका सालिक अहिले पनि चोकचोकमा छँदैछन् ।

समाज विकास क्रमको इतिहासमा शाह वंशीय शासनकाल भन्दा निकै अगाडिबाट मूर्ति निर्माण र पूजा भयो । अनेक देवी देवता, कूल देवता इत्यादिका मूर्ति त्यसका प्रमाण हुन् । राणा र राजतन्त्रको अन्त्यपछि दलहरूले आफ्नो शासन व्यवस्था चलेको अनुभूति दिलाउन नेताहरूको सालिक निर्माणमा होड चलाए । सँगै, भोट बढाउने प्रयोजनका निम्ति धार्मिक ग्रन्थमा उल्लेखित पात्रहरूको मूर्ति निर्माणको रेकर्ड राख्न चाहे ।

बदलिन नसकेको तिनै मूर्ति संस्कृति र सोचको सिको बालेनले पनि गरे । उनी जुन बाटो भएर महानगरको नेतृत्वमा पुगे, सकेसम्म इमान्दार बन्ने प्रयत्न स्वरूप यम बुद्धको मूर्ति बनाउने निर्णय लिए । यो निर्णयले आकाश खस्नेवाला छैन । किनकि देशमा सुकुम्वासी हुने भनेका मान्छेहरू हुन्, मूर्तिहरूका लागि त जति पनि जमिन खाली छ ।

तिनै मूर्तिहरूमा एक बन्ने हुन्, यम बुद्ध । लोकगीत वा शास्त्रीय संगीतमा व्यक्तित्व बनाउनेका मूर्तिजस्तै हिपहप विधामा योगदान गरेकाले उनको सालिक ठडिने हो । संगीतका अरू विधामा योगदान गरेकाहरूको सालिक छन् भने यम बुद्धको किन नबन्ने !

उसैपनि बालेनको जितबाट हिपहप अलग छैन । नयाँ पुस्ताको रोजाइमा बालेनको सोच र हिपहप संस्कृति दुवै परेका हुन् । त्यसैले यम बुद्धको सालिक उभ्याउने बालेनको निर्णय नयाँ गल्ती होइन ।

तर बालेनसँगै देशको नेतृत्व गरिरहेका राजनीतिक नेतृत्वले अविछिन्न रूपमा निरन्तरता पाउँदै आएको यो संस्कृतिबारे सोच्न भने आवश्यक छ– समाजका हरेक मान्छेमा खुसी खोज्ने कि मूर्ति उभ्याउने ?

अन्त्यमा,

चर्को आलोचनापछि बालेनले पारिश्रमिकबाट यम बुद्धको सालिक बनाउने निर्णय लिनु पनि समाधान होइन । यो आफैंमा आवेग, हतार र सजिलो उपाय हो । किनकि सार्वजनिक खपतका निम्ति राज्यले दिएको पारिश्रमिक नलिने वा अन्तै खर्चको घोषणा गर्ने तर कुशासनमा चुर्लुम्म डुब्ने फर्मुला थोत्रा भइसके ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?