+
+

तिब्बती शरणार्थीको अधिकारमा जोड दिनेछु : प्रस्तावित अमेरिकी राजदूत थम्पसन

दिपेश शाही दिपेश शाही
२०७९ असार ३० गते १७:००

३० असार, काठमाडौं । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले नेपालमा रहेका तिब्बती शरणार्थी र सीमान्तकृत समुदायको अधिकारलाई जोड दिएर काम गर्ने बताएका छन् ।

थम्पसनले ‘आफू नेपालका लागि राजदूतमा अनुमोदन भए के गर्ने’ भन्ने योजना अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सुनुवाइमा धारणा राख्ने क्रममा आफ्नो योजना प्रस्तुत गरेका हुन् ।

‘राजदूत भएर सेवा गर्ने अवसर पाएको खण्डमा नेपालका नागरिक र त्यहाँ बसोबास गर्ने सबैको अधिकारका लागि जोड दिनेछु । त्यसमा दलित, सीमान्तकृत र तिब्बतीलगायत शरणार्थी समुदायहरू रहने छन्,’ उनले जवाफ दिने क्रममा भनेका छन्, ‘म नेपाल सरकारलाई अर्थपूर्ण समावेशी, आर्थिक अवसर र मानवीय सहायतका नीति कार्यन्वयनका लागि प्रोत्साहन गर्नेछु ।’

उनले नेपालको आर्थिक वृद्धिलाई सहजिकरण गर्ने र दुई देशबीचको व्यापार सम्बन्ध सुदृढ बनाउने विषयलाई प्राथमिकता दिने बताएका छन् । ‘हामी नेपालसँगको सम्बन्धको महत्वपूर्ण मोडमा छौँ,’ उनले भनेका छन्, ‘नेपाललाई दुई ढुंगाबीचको तरुलका रूपमा चित्रित गरिन्छ, ती ढुंगा भनेका चीन र भारत हुन् । जबकि ती दुवै देशसँग नेपालको सम्बन्ध महत्वपूर्ण छ । हामीले पनि नेपालको स्वाधिनतालाई बलियो बनाउँदै अमेरिकासँगको साझेदारीलाई सुदृढ बनाउनुपर्छ ।’

उनले नेपाल र अमेरिकाको साझेदारीको ७५औं वर्ष पूरा भएको भन्दै अमेरिकी मूल्य र मान्यता अन्तर्गतका विविधता, समता, समावेशिता र पहुँच विस्तारको क्षेत्रमा काम गर्ने बताए ।

चीनले फैलाएको अफवाह अभियानको सामना गर्दै ५०० मिलियन डलरको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई नेपालको संसदले अनुमोदन गरेको उनको भनाइ छ ।

उनले यस परियोजना अन्तर्गत नेपालको जलविद्युतलाई दक्षिण एसियाको ऊर्जा ग्रिडसँग जोड्न प्रसारण लाइन, उच्च गुणस्तरका सडकहरू निर्माण गर्ने र यसले दुवै देशको समृद्धिमा सहयोग पुग्ने धारणा राखेका छन् । साथै, संयुक्त राष्ट्र संघको महासभामा युक्रेनको प्रस्तावमा नेपालले गरेको समर्थनलाई उनले स्मरण गरेका छन् ।

राजदूत र्‍यान्डी बेरीको कार्यकाल सकिनै लाग्दा गत चैतमा नेपालका लागि नयाँ राजदूतमा सिफारिस भएका थम्पसनको १३ जुलाईमा संसदीय समितिमा सुनुवाइ भएको हो ।

हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिवका रूपमा काम गरिरहेका थिए । अमेरिकी नीति र सो क्षेत्रका देशहरूसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई छ । थम्पसनले अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समय काम गरेका छन् ।

उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए । उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रूपमा काम गरेको अनुभव छ ।

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीको कार्यकाल सकिएर ह्वाइट हाउसनले नामिबियाको राजदूतमा सिफारिस गरेपछि प्रस्तावित राजदूत थम्पसनको जिम्मेवारी सम्हाल्ने प्रक्रिया चलिरहेको छ ।

अमेरिकाले गत असारमा नेपालका लागि राजदूत बेरीलाई नामिबियाका लागि र दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलरलाई ताजिकस्तानका लागि राजदूतमा प्रस्ताव गरेको छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?