१६ साउन, गोरखा । गोरखा नगरपालिकामा सडक नै नभएको ठाउँमा पक्की पुल निर्माण गरिएको छ ।
गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा पक्की पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको रकमबाट सो पुल निर्माण भएको हो ।
गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफू मन्त्री हँदा सो पुलको लागि बजेट विनियोजन गरेका थिए । तर सडक बिना पुल निर्माणको काम अघि बढाएको भन्दै स्थानीय उनी प्रति रुष्ट छन् । आवश्यक छलफल र समन्वय पनि नगरेको भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरेका छन् ।
‘पुल बनिरहेको ठाउँमा मेरो खेत पर्छ, त्यही खेत हुदै सडक लानुपर्छ’, स्थानीय कृष्ण बहादुर कुमालले भने, ‘पुल बनाउने बेला हामीसँग एकपटक पनि छलफल गरेनन्, अब बाटो चाहिँ कसरी लाने रहेछ हेरौला ।’ खेतबाट सडक लैजान क्षतिपूर्ति दिनुपर्ने उनले बताए ।
सडक नै नभएको ठाउँमा निर्माण भएको पुलमा मोटर कसरी आउँछ भन्नेमा स्थानीय आफैं अन्यौलमा छन् । स्थानीय गणेश कुमार नगरकोटी भन्छन्, ‘पुल वारी सबै खेत हो, पारी पातलभीरको जंगल छ, दुवैतर्फ सडक छैन, अनि त्यस्तो ठाउँमा बनाएको पुलमा मोटर चाहिँ कसरी आउँछ ?’ उनका अनुसार पुलसम्म सडक जोड्नका लागि जरेबरतर्फ एक किलोमिटर भन्दा बढी र नारेश्वर तर्फ करिब दुई सय मिटर सडकको ट्रयाक खन्नुपर्छ ।

जरेबरतर्फ खेतीयोग्य जमिन मासेर सडक सञ्जाल जोड्न स्थानीयकै अवरोध देखिन्छ । ‘धान उब्जाएर परिवार पाल्ने खेत यही हो, यही खेत पनि मासेर सडक बनाएपछि हामी कसरी बाँच्ने, कि खेतको पैसा दिनुपर्यो’, नगरकोटीले भने ।
स्थानीयसँग आवश्यक छलफल नगरी एकलौटी ढंगले पुल निर्माणको काम अघि बढाएपनि पुलसम्म सडक जोड्न भने मुश्किल देखिएको छ । पुल वारी मन्त्री बस्नेतको खेत रहेको र पारी उनको गाउँ भएकाले पनि हतारमा उनले उक्त योजनामा बजेट विनियोजन गरेको भन्दै उनको आलोचना समेत हुन थालेको छ ।
सडक नै नभएको सो ठाउँमा पाँच करोड ३९ लाख खर्चेर पुल निर्माणको काम भइरहेको छ । हालसम्म करिव ९३ प्रतिशत काम सम्पन्न भएको भौतिक पूवार्धार कार्यालय गोरखाका प्रमुख ओमराम ढुंगानाले बताए ।
पुल निर्माणको जिम्मा एचटिसी/गणेशकुण्ड/आईएस निर्माण सेवा जेभीले पाएको हो । २०७७ साल जेठ १३ गते सम्झौता भएर काम सुरु भएको कार्यालयले जनाएको छ ।
२०७९ जेठ १२ गते सक्नुपर्ने उक्त काम करिव अन्तिम चरणमा पुगेको छ । तर सडक नजोडिएकै कारण पुल सञ्चालनमा भने समस्या देखिने भएको छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4