
६ भदौ, काठमाडौं । एप्पलका प्रडक्टहरुप्रति मानिसहरुमा निकै धेरै क्रेज तथा लगाब भएको पाइन्छ । एप्पल ब्राण्डका उत्पादनहरुलाई धेरै मानिसहरुले मन पराउँदछन् । सन् १९७६ मा बनेको एप्पलको एउटा कम्प्युटर निकै महंगोमा बिक्री भएको थियो ।
अहिले उक्त कम्प्युटरको प्रोटोटाइप पनि निकै महंगो मूल्यमा लिलाम भएको छ । एप्पल वानको प्रोटोटाइप ६ लाख ७७ हजार १९६ डलर अर्थात् करिब ९ करोड रुपैयाँमा बिक्रि भएको छ ।
यो कम्प्युटर प्रोटोटाइपको खास विशेषता भनेको यो कम्प्युटरलाई एप्पल संस्थापक स्टिभ जब्सले प्रयोग गरेका थिए । यो प्रोटोटाइप केही समय पहिले बिक्रिमा राखिएको थियो र अन्ततः यो लिलाम बिक्रि भएको छ । ४६ वर्ष पूरानो यो प्रोटोटाइप खरीद गर्ने मानिसको नाम भने खुलाइएको छैन ।
स्टिभ जब्सले सन् १९७६ मा क्यालिफोर्नियास्थित बाइट शपका मालिक पल टेरेललाई कम्प्युटरको विशेषताका बारेमा बताउनका लागि यो प्रोटोटाइपको प्रयोग गरेका थिए । बाइट शप विश्वको पहिलो पर्सनल कम्प्युटर स्टोरमध्ये एक थियो ।
यो कम्प्युटर प्रोटोटाइपको लिलामी आर आर अक्सन हाउसमा भएको हो । स्टिभ जब्सले आफ्ना सहकर्मीहरु स्थिभ बोज्नियाक, प्याटी जब्स र डेनियल कोटकेसँग मिलेर बनाएका २ सय वटा डिभाइस मध्ये यो एक हो ।
एप्पल वानको उत्पादन बन्द हुनु अगाडि केवल २ सय गोटा कम्प्युटर मात्रै बिक्रि भएका थिए । एप्पल वान कम्प्युटर बजारमा आउँदा यसको मूल्य ६६६ डलर ६६ सेन्ट तोकिएको थियो ।
यो प्रोटोटाइपको लिलामी गर्नु अगाडि यसको सक्कलीपनको जाँच गरिएको थियो । त्यसका लागि सन् १९७६ मा टेरेलले लिएको फोटोसँग यसको तुलना गरिएको थियो ।
साथै एप्पल वान विज्ञ कोरे कोहेनले पनि यसलाई प्रमाणिकरण गरेका थिए । उनले यसका विषयमा १३ पेजको रिपोर्ट तयार गरेका थिए । सो रिपोर्टलाई पनि एप्पल वान प्रोटोटाइपसँगै लिलाम गरिएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4