+
+

पूर्वतयारी सकेर मात्र पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति थाल्न विकास समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १७:२८
नारायणघाट-बुटवल सडक । फाइल तस्वीर

८ भदौ, काठमाडौं । संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण कार्यहरु सम्पन्न गरेर मात्रै पूर्व-पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्डमा देखिएको समस्या नदोहोरिने गरी पूर्वतयारीको सम्पूर्ण कार्य सम्पन्न गरेर मात्रै राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

सडकका पैदल यात्रु र त्यस वरपरका स्थानीय बासिन्दालाई समेत सहज हुने गरी राजमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।

बैठकमा उनले भनिन्, ‘…नारायणघाट–बुटवलको निर्माणमा देखिएका कमीकमजोरी नदोहोरिने गरी सडक प्रयोग गर्ने पैदलयात्रु र सडक वरपरका स्थानीय बासिन्दालाई समेतलाई सहज हुने गरी वातावरणमैत्री, प्रविधिमैत्री र वन्यजन्तुमैत्री तथा गुणस्तरीय बनाउने कार्यको सुनिश्चितताको लागि यस्को यसको डिजाईन तथा डिपिआर निर्माण गर्दाकै अवस्थामा तत्काल ध्यान पुर्‍याउन र पूर्व तयारीका सम्पूर्ण काम सम्पन्न गरेर मात्र स्तरोन्तिको कार्य अगाडि बढाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।’

बैठकले राजमार्गको विभिन्न सडक खण्डमा रहेका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र वन्यजन्तु आरक्षणलगायतका सरकारका संरक्षित वन क्षेत्रहरु समेत पर्ने भएकाले वन, वातावरण तथा वन्यजन्तु संरक्षणलाई पर्याप्त ध्यान दिई सडक तथा पुल निर्माण सम्बन्धि डिपिआर र वातावरणीय अध्ययनका कार्यहरु यथाशिघ्र सहजीकरण गर्न वन तथा वातावरण मन्त्रालयलाई सचेत पनि गराएको छ ।

बैठकमा सांसदहरुले पूर्व–पश्चिम राजमार्गमा यातायात सेवा सहज हुनेगरी त्यसको स्तरोन्नतिको कामलाई तत्काल अघि बढाउन सरकारलाई दवाव दिएका थिए ।

रेल सेवा सहज बनाउन निर्देशन

रेल चढ्ने यात्री ।

समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा ल्याइएको रेल सेवालाई सहज हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । सो रेल सेवामा विभिन्न समस्या देखिएकाले ती समस्याहरु हल हुने गरी रेलका लागि आवश्यक मर्मत तथा इन्धन सेन्टरको समेत तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति खड्काले बताइन् ।

नेपालको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको रेल, मेट्रो रेल तथा विकास आयोजना अन्तरगत नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर सडक खण्डमा २०७८ साल चैत्र २० गतेदेखि रेल चलेको छ । तर रेल सञ्चालनमा समस्या छन् ।

समितिले विद्युतीय रेल सेवा सञ्चालनका लागि विद्युतीय संरचना निर्माणको कामलाई अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?