
काठमाडौं । नेवारी संस्कृतिमा आधारित रहेर कल्चरल भिडियो कन्टेस्ट आयोजना हुने भएको छ । इन्द्रजात्राको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतियोगिता घोषणा गरियो ।
दया फाउन्डेसनले आयोजना गरेको कन्टेस्टको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरे ।
‘नेवा संस्कृति प्रवर्द्धन गर्न भिडियो कन्टेस्टले योगदान पुर्याउनेछ भन्ने आशा लिएको छु,’ मन्त्री श्रेष्ठले भने, ‘भिडियोको माध्यमबाट संस्कृतिलाई जोगाउन र प्रचारप्रसार गर्न यस्ताखाले कार्यक्रमले सकारात्मक भूमिका खेल्छन् ।’
संस्कृति प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री श्रेष्ठले संस्कृति संरक्षण नागरिकको समेत दायित्व भएको बताए । समारोहमा उपस्थित इजिप्ट लगायत मुलुकका राजदूतले समेत संस्कृति संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुने बताए ।
फाउन्डेसन अध्यक्ष राजेशबहादुर प्रधानले सिकाइ, अनुसन्धान र सिर्जनात्मक माध्यमबाट सांस्कृतिक सम्पदा र क्षेत्रलाई प्रवर्द्धन गर्नतर्फ युवाको भूमिका बढाउने उद्देश्यले कन्टेस्ट गर्न लागिएको बताए । ‘नेवारी संस्कृतिबारे नागरिकलाई जानकारी दिन दृश्य अभिलेख राख्ने हाम्रो उद्देश्य हो,’ प्रधानले भने ।
प्रतिस्पर्धामा भाग लिन इच्छुकले नेवारी संस्कृतिको कथावस्तुमा आधारित तीन मिनेटको भिडियो दया फाउन्डेसनमा पठाउन सक्नेछन् । मौलिक रुपमा निर्माण गरिएको हुनुपर्ने र नेपाली तथा अंग्रेजीमा बन्नुपर्ने नियम छन् ।
सेप्टेम्बर ३० सम्म भिडियो पठाइसक्नुपर्नेछ भने जनवरी १ देखि १२ सम्म भिडियो मूल्यांकन गरिने भएको छ । निर्णायकले उत्कृष्ट ठहराएका भिडियोलाई पुरस्कृत गरिने भएको छ ।
प्रतिक्रिया 4