
३० भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो निर्वाचनमा माओवादी देशकै पहिलो कम्युनिष्ट पार्टी बन्न सक्ने मजबुत आधार रहेको जिकिर गरेका छन् ।
दिवंगत नेता पोष्टबहादुर बोगटीको ८ औं स्मृति दिवस समारोहलाई विहीबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले अहिले पनि जनताले देशको चाबी माओवादीलाई सुम्पन चाहेको बताए । ‘स्थानीय निर्वाचनको सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीकै हातमा देशको चाबी दिन चाहन्छन्,’ उनले भने, ‘यसका लागि माओवादीबीच आन्तरिक एकता आवश्यक छ भन्ने हामीले महसुस गर्दै आएका छौं ।’
गत स्थानीय निर्वाचनमा राम्रो व्यवस्थापन गर्न सकेको भए माओवादी देशको पहिलो कम्युनिष्ट पार्टी बनिसकेको हुने उनले बताए । ‘यो कुनै मनोगत कुरा होइन । आन्तरिक व्यवस्थापन राम्रो गर्न नकस्दा ५० सिट गुम्यो,’ उनले भने ।
चुनावमा राम्रो व्यवस्थापन गर्न नसक्दा नसक्दै पनि स्थानीय चुनावमा माओवादीलाई जनताले चाबी बुझाएको उनको तर्क थियो । ‘तेस्रो भए पनि हामी निर्णायक छौं,’ उनले भने ।
यद्यपि, पार्टीभित्र आन्तरिक एकता राम्रो बन्न नसक्दा पनि पार्टीले यो अवसर गुमाउने उनको संकेत थियो । उनले भने, ‘पार्टी निर्णयभन्दा व्यक्तिगत हित र स्वार्थलाई केन्द्रमा राख्यौं भने माओवादी मात्रै होइन, देश नै कमजोर हुनसक्छ ।’
प्रतिक्रिया 4