
५ असोज, काठमाडौं । नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकार चुकेको बताएको छ ।
नेकपा एमालेका स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति निकालेर भनेका छन्, ‘रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ ।’
एमालेले डेंगु रोगबाट पछिल्लो तथ्यांकअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका विरामीहरुको संख्या योभन्दा निक्कै धेरै बताएको छ ।
हजारौंको संख्यामा विरामीहरु स्वास्थ्य परिक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य भएको भन्दै भट्टराईले विज्ञप्तिमा लेखेका छन्, “स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण विरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोल लगायत अतिआवश्यक औषधीको अभाव भएको छ ।’
डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परिक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी/गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधी सहज रुपमा उपलब्ध गराउन एमालेले माग गरेको छ ।
प्रतिक्रिया 4