+
+

रुपन्देही ३ : गृहमन्त्री खाँणलाई भारी पर्न सक्छन् दीपक बोहरा

टोपराज शर्मा टोपराज शर्मा
२०७९ असोज २४ गते २०:४१

२३ असोज, बुटवल । २०७४ सालमा समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण यसपटक भने रुपन्देही–३ बाट प्रत्यक्ष चुनाव लड्दैछन् ।

गृहमन्त्रीसमेत रहेका उनले प्रतिस्पर्धीका रुपमा पाएका छन् पञ्चायतकालदेखिका राजनीतिक खेलाडी राप्रपा नेता दीपक बोहरा । खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ । बोहरालाई भने नेकपा एमाले र जनता समाजवादी पार्टीको ।

पञ्चायत कालमा ४ पटक र गणतन्त्रपछि तीनपटक मन्त्री भइसकेका ७२ वर्षका अनुभवी बोहराले यसपटकको चुनाव आफ्ना लागि अन्तिम भएको बताएका छन् । बोहरा रुपन्देही–१ बाट चुनाव लड्न चाहन्थे, किनभने उनलाई जितका लागि त्यहाँ सहज थियो ।

३० वैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन भन्दा एमाले–राप्रपा–जसपा गठबन्धन १२ हजार मतले अघि छ । तर एमाले सचिव छविलाल विश्वकर्माले २०७४ मा जितेको आफ्नो क्षेत्र नछाडेपछि बोहराले गृहमन्त्री खाँणलाई प्रतिस्पर्धीका रुपमा स्वीकार्न पुगेका हुन् ।

बोहरा २०६४ को चुनावमा रुपन्देही १ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका थिए । २०७० मा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भएका बोहरा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ मा नेकपा एमालेका घनश्याम भूसालसंग पराजित भएका थिए ।

वाम गठबन्धनका उम्मेदवार भूसालले ३२ हजार ८६६ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसको समर्थन पाएका बोहराले २७ हजार ४२२ मत पाएका थिए । त्यति बेला राप्रपा विभाजित थियो र वर्गाकारभित्र हलो चिह्न लिएर त्यही क्षेत्रमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कमलप्रसाद शर्मा उपाध्यायले एक हजार ८५६ मत ल्याएका थिए ।

त्यतिबेला रुपन्देही–३ मा ४ हजार ६३ मत बदर भएको चुनाव चिह्नका कारण बदर भएको अधिकांश मत राप्रपाकै भएको राप्रपा रुपन्देही अध्यक्ष सागरप्रताप राणा बताउँछन् । अहिले राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टीप्रति आकर्षण बढेको र विगत भन्दा पार्टीको मत बढेको उनको दावी छ ।

रुपन्देही–३ मा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, बुटवलका वडा नम्बर १४ देखि १९, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ र तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

यो क्षेत्रमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मत अनुसार राप्रपा यहां पनि कांग्रेस र एमालेपछिको तेस्रो शक्ति हो ।

रूपन्देही ३ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले ३४ हजार १५३, एमालेका वडाध्यक्ष उम्मेदवारहरुले २९ हजार ४८, राप्रपाका वडाध्यक्ष उम्मेदवारहरुले १३ हजार ३९७, जसपाका वडाध्यक्ष उम्मेदवारहरुले ६ हजार १८३, माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारहरुले दुई हजार ८८१, लोसपाका वडाध्यक्ष उम्मेदवारहरुले दुई हजार १७४ र नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारहरुले ९७७ मत पाएका थिए ।

यस आधारमा सत्ता गठबन्धनको मत ४० हजार १ सय ६७ छ भने एमाले नेतृत्वको एमाले–राप्रपा–जसपा गठबन्धनको मत ४८ हजार ६ सय २८ मत छ । यो अंक गणितका आधारमा सत्ता गठबन्धनका उम्मेदवार गृहमन्त्री खाँण दीपक बोहरा भन्दा ६ हजार ४ सय ६१ मतले पछाडि छन् । राप्रपाले यस क्षेत्रमा आफ्नो १५ हजार भन्दा बढी मत रहेको दाबी गर्ने गरेको छ ।

‘यो क्षेत्रमा दीपक बोहराले धेरै अघिदेखि योगदान गर्नुभएको छ, त्यो यहाँका पुराना मतदातालाई थाहा छ’, राप्रपा जिल्ला अध्यक्ष राणाले भने, ‘बोहराको व्यक्तिगत प्रभावले स्थानीय तहको मत भन्दा धेरै अन्तरले हामी जित्छौं ।’

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले सत्ता गठबन्धनलाई पराजित गर्ने पार्टीको रणनीति रहेकाले राप्रपासंगको तालमेललाई कार्यकर्ताले इमान्दारितापूर्वक कार्यान्वयन गर्ने दावी गर्छन् ।

नेपाली कांग्रेस रुपन्देही–३ का क्षेत्रीय सभापति सुशील गुरुङ भने स्थानीय तहको मतले प्रतिनिधि सभा चुनावलाई प्रभाव नपार्ने तर्क गर्छन् । ‘स्थानीय चुनावको मतले यो चुनावलाई प्रभाव पार्दैन, गृहमन्त्रीको राजनीतिक उचाइ र यो क्षेत्रको विकासमा गरेका योगदानले गर्दा सजिलै चुनाव जित्छौं’, गुरुङले दावी गरे ।

यो क्षेत्रमा कांग्रेस पृष्ठभूमिका सामाजिक अभियन्ता प्रख्यात बन्जाडे हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका छन् । भैरहवा र आसपासका व्यवसायिक तथा सामाजिक संघसंस्थामा राम्रो प्रभाव जमाएका बन्जाडेले समेत कांग्रेसकै मत काट्ने र त्यसले खाँणलाई असर गर्ने अन्य दलका नेता कार्यकर्ताको विश्लेषण छ ।

त्यसो त कांग्रेस नेताहरु एमालेले राजसंस्थाको वकालत गर्ने राप्रपालाई समर्थन गरेकाले सबै एमाले कार्यकर्ताले बोहरालाई मत नदिने हुँदा खाँणको जित हुने तर्क गर्ने गरेका छन् । कांग्रेसभित्रै पनि संस्थापनको पेलाइमा परेकाले संस्थापन इतर नेता कार्यकर्ता खांणसंग असन्तुष्ट छन् ।

पार्टीको महाधिवेशनका क्रममा संस्थापन पक्षले संस्थापन इतरका नेता कार्यकर्तामाथि भौतिक आक्रमण नै गरेका थिए । त्यसको तुष बांकी नै रहेको र क्षेत्रमा पाखा लगाएको भन्दै संस्थापन इतरका नेता कार्यकर्ताले खाँणलाई सहयोग नगर्न सक्छन् । चुनाव जित्न गठबन्धनमा रहेका अन्य दलको भर पर्नुपर्ने कारण र अन्य सहायक कारणहरुले गर्दा बोहरा र खाँणको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?