+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

आयात प्रतिबन्धको ‘डेडलाइन’ शुक्रबारसम्म, अब के हुन्छ ?

सरकारले तेस्रो पटक म्याद थप गरेर आयात प्रतिबन्ध कायम राखेको चार प्रकारका विलासी वस्तुको प्रतिबन्ध समय शुक्रबार गुज्रिंदै छ । 

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ असोज २५ गते १५:०३

२५ असोज, काठमाडौं । सरकारले तेस्रो पटक म्याद थप गरेर आयात प्रतिबन्ध कायम राखेको चार प्रकारका विलासी वस्तुको प्रतिबन्ध समय (डेडलाइन) शुक्रबार गुज्रिंदै छ ।  विदेशी मदिरा, स्मार्ट फोेन, महँगा चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलको प्रतिबन्ध खुल्ने वा थप लम्बिनेबारे सरकारी निर्णय नहुँदै व्यवसायीले भने प्रतिबन्ध फुकुवाका लागि दबाव बढाइरहेका छन् । तर, सरकारी निकाय भने यसबारे औपचारिक छलफलमा समेत जुटेका छैनन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार आयात प्रतिबन्ध फुकुवा हुने वा नहुनेबारे मंगलबार बिहानसम्म कुनै छलफल भएको छैन । विदेशी मुद्रा सञ्चितिमा दबाव कायमै छ वा छैन भन्नेबारे अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट कुनै जानकारी नआएका कारण मन्त्रालय समेत अन्योलमा परेको एक अधिकारीले बताए ।

मन्त्रीहरुलाई चुनावी चटारोले छोपेको र दशैं बिदा भर्खरै सकिएका कारण पनि यसबारे छलफल हुनै बाँकी रहेको ती अधिकारीको भनाइ छ ।

‘शुक्रबार प्रतिबन्धको समय गुज्रिंदैछ तर जे कारण प्रतिबन्ध लगाएको हो, सो अवस्था सुध्रिएको हो वा होइन भन्नेबारे हामीलाई अर्थ र राष्ट्र बैंकले कुनै जानकारी गराएका छैनन्,’ ती अधिकारी भन्छन्, ‘दशैं बिदा भर्खरै सकिएको छ । हालसम्म यस विषयमा कुनै छलफल समेत भएको छैन ।’

मन्त्रालयले गत १४ भदौमा पाँच महिना लामो प्रतिबन्ध पछि ६ प्रकारका वस्तुको प्रतिबन्ध हटाएर मदिरा, स्मार्ट फोेन, महँगा चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलको प्रतिबन्ध २८ असोजसम्म लम्ब्याएको थियो ।

सरकारले ढुकुटीमा विदेशी सञ्चितिमा चाप परेको भन्दै गत वैशाखमा १० प्रकारका बिलासी वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । त्यसलाई थप कसिलो बनाउँदै ३० असारमा प्रतिबन्ध १४ भदौसम्म थप गरिएको थियो ।

वाणिज्य मन्त्रालयले अर्थ र राष्ट्र बैंकबाट जानकारी नआएको बताइरहँदा अर्थ मन्त्रालय भने यसमा वाणिज्य मन्त्रालयलाई नै देखाएर पन्छिन खोजेको छ ।

प्रतिबन्ध अब के हुने भन्नेबारे छलफल मन्त्रालयमा भएको जानकारीमा नरहेको भन्दै एक उच्च अधिकारीले भने, ‘राजपत्रमा सूचना निकाल्ने मन्त्रालयले नै यसबारे थप निर्णय गर्ला,’ ती अधिकारी थप्छन्, ‘आयात प्रतिबन्दले राजस्वमा स्वभाविक दबाव पर्ने कुरा रह्यो तर राज्यको ढुकुटीसँग जोडिएको विषयबारे के गर्ने भन्ने कुरा वाणिज्य मन्त्रालय र मन्त्रिपरिषद्ले निर्णय गर्ने हो ।’

नेपाल राष्ट्र बैंकले भने तत्काल आयात प्रतिबन्ध र आयातमा नगद मार्जिन फुकुवा गर्न नहुने संकेत गरेको छ । डलर महँगीले नयाँ-नयाँ उचाइ बनाउनु र विदेशी विनिमय सञ्चितिमा दबाव कायमै रहेका कारण त्यसतर्फ सरकार अघि बढ्न नहुने केन्द्रीय बैंकको संकेत छ ।

तर, बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले विदेशी विनिमयमा दबाव कायमै रहेको मात्रै बताए । ‘असारमा भन्दा साउनमा विनिमय सञ्चितिमा ९ अर्ब डलरले घटेको छ,’ प्रवक्ता भट्टले भने, ‘यो भनेको दबाव कायमै छ भन्ने हो ।’

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?