
काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकी आर्थिक सहर न्युयोर्कमा ‘नेपाल-अमेरिका संगीत महोत्सव’ सम्पन्न भएको छ ।
फेस्टिभल शुभारम्भ कार्यक्रममा उपस्थित न्युयोर्क नगरका मेयर एरिक एडमले अमेरिकाको सांस्कृतिक विविधतामा त्यहाँस्थित नेपाली समुदायको योगदानको प्रशंसा गरे ।
फेस्टिभल आयोजनास्थल क्वीन्स नेपाली समुदायको सघन बसोबास भएको थलो समेत हो । मेयर एडमले नेपालीका ठूला पर्व दशैं र तिहारको शुभकामना समेत दिएका थिए ।
चार हजार दर्शकको उपस्थिति रहेको समारोहमा नेपाली कलाकारले प्रस्तुति समेत दिएका थिए । गायक तथा नृत्यकारले नेपाली, अमेरिकी, बंगालीलगायत दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
मेयर एरिकले नेपाली संगीत र संस्कृतिलाई विश्वमा प्रवर्द्धनका लागि मद्दत गर्न फेस्टिभल आयोजना गरेकोमा आयोजकलाई बधाई समेत दिए । एरिकले गायिका सपनाश्री, फिरोज स्याङदेन, पेमा छेवाङ शेर्पा र सुरज सिंह ठकुरीलाई अवार्ड प्रदान गरेका थिए ।
बुद्ध कर तथा लेखा विभागका सीपीए पशुपति श्रेष्ठ, रेभेल इभेन्ट्स इन्कका राजेश हमाल र न्युयोर्कका रियल स्टेट सेल्स म्यान नवराज केसीले पहिलोपटक खुला स्थानमा यो फेस्टिभल आयोजना गरेका हुन् ।
फिरोज, हरि कर्माचार्य (अन्धो मान्छे), दीपेशकिशोर भट्टराई, सञ्जीव प्रधान, रेश्मा सुनुवार, तिलकबम मल्ल, विमल डाँगी, निशा सुनार र सञ्जोग योञ्जनले गीत गाउँदा कविना सिंह, येसेर्ग गुरुङ र रुतमान गुरुङ, अरमानी महर्जन, ममता राई र वनसन्त डान्स सेन्टरले नृत्य प्रस्तुत गरेका थिए ।
आयोजकमध्येका नवराजले क्विन्समा बसोबास गर्ने विदेशीलाई नेपाली संगीत र संस्कृतिको परिचय गराउनु रहेको बताए । फेस्टिभललाई बर्सेनि आयोजना गर्ने र नेपाली संगीत र संस्कृतिको प्रवद्र्धन गर्ने जनाए ।
प्रतिक्रिया 4