
काठमाडौं । नेपाल युरोपेली युनियन फिल्म फेस्टिभलको ११ औं संस्करण काठमाडौं र कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ ।
काठमाडौंमा कात्तिक ११ देखि १५ गतेसम्म र सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा कात्तिक १९ देखि २२ गतेसम्म फेस्टिभल आयोजना हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फेस्टिभलमा १३ युरोपेली र ३ नेपाली फिल्म स्क्रिनिङ गरिने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युरोपेली युनियन डेलिगेसनकी कार्यवाहक प्रमुख जोयले हिभोनेटले भौतिक र अनलाइन माध्यममा फेस्टिभल हुने जानकारी दिइन् ।
उनले भनिन्, ‘नेपाल र युरोपबीच सांस्कृतिक अनुभव आदानप्रदान गर्न फेस्टिभल महत्वपूर्ण हुने आशा हामीले लिएका छौं । नेपाल सरकारका सम्बद्ध निकायसँग मिलेर हामी फिल्म विकासमा हातेमालो गर्ने तत्पर समेत छौं ।’
युरोपेली मुलुकमा नेपाली फिल्मको छायांकनमा सहजीकरण गर्नेतर्फ आफूले ब्रसेल्सस्थित मुख्यालयबाट पहल गर्ने उनले जनाइन् । यसपटक चलचित्र विकास बोर्डमा फेस्टिभल कार्यक्रम आयोजना हुनेछ ।
१३ युरोपेली फिल्ममध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले गर्ने निर्देशन गरेको ‘अस्कर एण्ड लिली’लाई नेपाली सब्टाइटलमा प्रदर्शन गरिने भएको छ ।
नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको फिल्म ‘ऐना झ्यालको पुतली’ समेत फेस्टिभलमा स्क्रिनिङ गरिने भएको छ । किरण श्रेष्ठ निर्देशित ‘येट अनदर विन्टर’र विशाल मगर निर्देशित ‘गोर्खा गल्र्स’ समेत देखाइने भएको छ ।
फिल्म स्क्रिनिङसँगै फिल्म निर्माणमा आर्काइभ अर्थात पुराना सामाग्रीको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारे छलफल समेत हुने भएको छ । फिल्मले वातावरण संरक्षणमा गर्न सक्ने योगदान र युरोपेली फिल्म निर्माणको अवस्था तथा नेपाली फिल्ममेकरबीच हुनसक्ने सम्भावित सहयोगबारे प्यानल छलफल हुनेछ ।
सुर्खेतमा हुने फेस्टिभलमा ‘ऐना झ्यालको पुतली’ फेम्ड निर्देशक सुजित बिडारीले कर्णाली प्रदेशका विद्यार्थी र फिल्मकर्मीलाई मास्टर क्लास संचालन गर्ने भएका छन् ।
फेस्टिभलमा भौतिक र अनलाइनमार्फत फिल्मलाई निःशुल्क हेर्न सकिने भएको छ । फेस्टिभल स्कोपको वेबसाइटमा गएरु फिल्म हेर्न सकिनेछ । फिल्म फेस्टिभलबारे विस्तृत जानकारी डेलिगेसनको वेबसाइटमा उपलब्ध गराइएको छ ।
अनलाइनमा राखिएका फिल्महरु २८ नोभेम्बर सम्म उपलब्ध हुने जनाइएको छ । फेस्टिभलको ब्राण्ड एम्बेसडरमा नेपाली अभिनेत्री केकी अधिकारी छिन् ।
प्रतिक्रिया 4