+
+

रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

अन्तरिम आदेशका लागि २ कात्तिकमा दुवै पक्षलाई छलफलमा बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १९:३१

३० असोज, काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुबै पक्षलाई २ कात्तिकमा छलफलमा बोलाएको छ ।

त्यस्तै सर्वोच्चले निर्वाचन आयोगलगायतका विपक्षीसँग गुरुङको उम्मेदवारी खारेज गर्नुको कारणसमेत माग गरेको छ ।

बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृत उदवीर नेपालीले २६ असोजमा गुरुङको उम्मेदवारी खारेजीको निर्णय गरेका थिए । गुरुङले निर्वाचन अधिकृतलाई उम्मेदवारी खारेज गर्ने अधिकार नभएको भन्दै आफ्नो उम्मेदवारी खारेजीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

नेकपा एमालेले गुरुङको उम्मेदवारी कायम होस् भन्ने पार्टीको धारणा रहेको प्रतिक्रिया दिएको छ । रुपन्देही–२ का एमाले निर्वाचन परिचालन कमिटी संयोजक नेत्र पन्थीले अदालती प्रक्रियाबारे पार्टीको चासो नरहेपनि गुरुङको उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न आएको आदेशले पार्टीलाई कुनै फरक नपर्ने बताए ।

‘सामाजिक सञ्जालहरुमा पार्टीलाई जोडेर आएका टीकाटिप्पणीप्रति पार्टीको ध्यान गएको छ’, पन्थीले भने, ‘हामी कसैको उम्मेदवारी खारेज होस् भन्ने चाहेका छैनौं, जोसुकै मैदानमा आएपनि प्रतिस्पर्धा गरेर जितका लागि तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?