+
+

सिस्नुपानीको देउसीमा नेताहरुकै सामुन्ने राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते २१:०५

काठमाडौं । सधैंजस्तै तिहारको अवसरमा यसपटक पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ । प्रज्ञा प्रतिष्ठान र सिस्नुपानी नेपालले शनिबार संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी-भैलो कार्यक्रम आयोजना गरेका हुन् ।

कलाकारले देउसीमा वर्तमान राजनीति, भ्रष्टाचार र सामाजिक विसंगतिविरुद्ध व्यंग्यमार्फत कटाक्ष गरे । देउसीसँगै सांगीतिक प्रस्तुति समेत दिइएको थियो ।

देउसी-भैलोमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, दलका नेता, काठमाडौ तथा ललितपुर महानगरका प्रमुख, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए ।

प्रज्ञा भवन र डबलीमा खचाखच भरिएका दर्शकका अगाडि अच्युतराम भन्डारीको नेतृत्वमा ३८ जनाले तबलाबाट दर्शकलाई स्वागत गरे ।

लगत्तै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले पैसाका लागि कसरी नेताले जनताको भावनासँग खेल्छन् भन्ने प्रस्तुति दिए । सिद्धान्त फरक भए पनि सत्ता, शक्ति र पैसामा उनीहरूले इमान बेच्छन् भन्ने कुराको प्रस्तुति दिंदा दर्शकले तालीले समर्थन गरे ।

कवि पराजुलीले आधा दर्जन कवितामा समसामयिक विषयलाई उठान गरे । विभिन्न कालखण्डमा नेतृत्वले जनतालाई देखाउने सपना र ती सपनाको सिंढी चढेर जनताका सपनामाथि खेलवाड गर्छन् भन्ने कुरालाई गम्भीर रूपमा प्रस्तुत गरे ।

कोरोना महामारीका कारण सिस्नुपानी नेपालले अघिल्ला दुई वर्ष देउसी कार्यक्रम गर्न सकेको थिएन । यसपटक भौतिकरुपमा आयोजित कार्यक्रम भव्य र सभ्य भएको आयोजकले जनाएको छ ।

‘देउसी-भैलो उत्साहजनक रह्यो । दर्शकको मायाले हामी पुलकित भएका छौं,’ संस्थाका अध्यक्ष लक्षण गाम्नागेले भने । यसलाई अझ सशक्त बनाएर खबरदारी गर्दै सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि आवाज उठाइरहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?