१७ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार अभियोगमा अहिले जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस चलिरहेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले दर्ता गरेको अभियोगपत्रमाथि मंगलबरदेखि सन्दीप पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले लामिछानेले नाबालिगलाई बलात्कार गरेको पुष्टि भएको जिकिर गर्दै १० देखि १२ वर्ष जेल सजाय हुनपर्ने मागदाबी प्रस्तुत गरेको थियो ।
तर सन्दीप पक्षका वकिलहरु लामिछानेविरुद्ध लागेको अभियोगको जवाफ दिनभन्दा पनि पीडितको उमेरमाथि प्रश्न गर्न केन्द्रित भएका छन् । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पीडित नाबालिका नै नभएको दाबी प्रस्तुत गरे ।
‘उनको विद्यालयमा पेश गरेको कागजात र विवरण जन्ममिति २०६१/०२/१८ छ, २०७३ सालमा परिवार बसाइँसराइँ गरेर काठमाडौं आउँदाको कागजमा पनि २०६१ साल नै छ’, श्रेष्ठले भने, ‘तर, पछि फेरि गाउँमा गएर उमेर घटाएर अर्को जन्मदर्ता बनाइएको देखिएको छ ।’ यससम्बन्धी कागजात पनि अदालतमा पेश गरिएको उनले अनलाइनखबरलाई बताए ।
‘अन्तिम पटक वडा कार्यालय गएर २०६२/०२/१८ को जन्ममिति उल्लेख गरेर अर्को जन्मदर्ता बनाइएको पाइएको छ’, उनले भने, ‘पहिले यदि गल्ती भएको थियो भने पनि ६ महिनाभित्र सच्याउनुपर्ने व्यवस्था छ । त्यो नभए एक वर्षसम्ममा सच्याउनुपर्ने पनि हो ।’ तर पछि सच्याएकाले उल्टै सरकारीवादी मुद्दा चल्न सक्ने स्थिति रहेको श्रेष्ठले बताए ।
अधिवक्ता सुधा रिजालले त ‘जन्मदर्ता बनाएर कसैलाई फसाउन किटानी जाहेरी दिएर मुद्दा अघि बढाउन सक्छ भने अदालतले पनि त्यसमा विश्लेषण गनुपर्र्ने’ दाबी गरिन् । अभियुक्त लामिछानेले अदालतमा दिएको बयानका क्रममा सँगै घुम्न गएको र फर्किएर काठमाडौंस्थित होटल काठमाडौं इनमा बसेको स्वीकारेका छन् । तर बलात्कार गरेको अस्वीकार गरेका छन् । ‘उहाँले बयानमा भने अनुसारकै पुष्टि हुने गरी बलियो दलिल पेश गरेका छौं’, रिजालले भनेकी छन् ।
यो प्रकरणमा सन्दीपको पक्षबाट काुनन व्यवसायीहरु कृष्ण सापकोटा, लभ मैनाली लगायले पनि बहस गरेका छन् । शुक्रबार उनीहरुले गरेको बहसमाथि सरकारी वकिलले जवाफ दिनेछन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले चाहिँ उनको नागरिकता प्रमाण पत्रको प्रतिलिपी पेश गर्दै पीडित १७ वर्ष २ महिना १८ दिनको भएको बताएको छ ।
‘खासमा उमेर बहसको विषय नै होइन, यो बलात्कारको विषयलाई डाइभर्ट गर्नलाई मात्र ल्याएको छ’, एक सरकारी वकिलले भने, ‘यो विषयमा अदालतमै जवाफ दिन्छौंं ।’
कानून व्यवसायी एवं महिला अधिकारकर्मी मोहना अन्सारी पनि लामिछाने पक्षका कानून व्यवसायीले पीडितले गरेको दाबीलाई काट्ने प्रमाण पेश गर्नुपर्नेमा सहायक कुरामा अल्झिएको बताउँछिन् ।
‘पीडितले भनेको कुरालाई काट्ने प्रमाण पेश गर्नुपर्नेमा आरोप काट्न मिल्ने कुरै नभएपछि उमेरको असान्दर्भिक विषय निकालिएको जस्तो देखिन्छ’, अन्सारीले भनिन्, ‘यो विषयलाई अहिले बहसको विषय बनाउनु हुँदैन ।’
यो प्रकरणमा आरोपी आफैंले घुम्न गएको र होटलमा सँगै बसेको स्वीकारेको बताउँदै अन्सारीले भनिन्, ‘सीसी टीभीबाट पनि त्यो पुष्टि भएको छ, मलाई बलात्कार भयो भन्ने पीडितको भनाइ छ । त्यसैले मुख्य कुरा बलात्कारको विषय हो । उमेर सपोर्टिभ विषय मात्र हो ।’
पीडित नाबालिका हुन् होइनन् भन्ने विषयभन्दा बलात्कार भएको हो होइन भन्ने विषय महत्वपूर्ण भएको सरकारी वकिलहरु पनि बताउँछन् । उनीहरु भन्छन्, ‘यो आरोप पुष्टि भइसकेपछि सजाय निर्धारण गर्ने बेलामा सजाय कम गर्नलाई उपयुक्त हुनसक्ला । तर अहिलेको मुख्य मुद्दा यो होइन ।’
तर सन्दीपको पक्षमा बहस गर्ने कानून व्यवसायीहरुले पीडित नाबालिग होइन भन्ने दलिल प्रस्तुत गरेर सबै कुरा सहमतिमा भए जस्तो प्रस्तुत गर्न खोजेको एक अनुसन्धान अधिकृत बताउँछन् ।
ती अधिकृत भन्छन्, ‘तर नाबालिग र उमेर पुगेको भन्ने विषयलाई आधार बनाएर अदालतले हाजिरी जमानीमा छाड्ने वा धरौटीमा छाड्ने भन्ने ग्राउण्ड हुँदैन । यो मुख्य बहस छल्ने प्रयास मात्र हो ।’
अधिकारकर्मी अन्सारी पनि विगतमा अभिनेता पल शाहविरुद्ध बहस हुँदा पनि पीडित नाबालिग होइनन् भन्ने तर्क प्रस्तुत गरिएको सम्झन्छिन् । ‘त्यसबेला अदालतले उमेरको कुरा इन्टरटेन नै गरेन’, उनले अनलाइनखबरसँग भनिन् ।
सन्दीपको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ चाहिँ विगतमा यस्तो विवाद हुँदा हड्डी लगायतका विषय परीक्षण गरेर पनि उमेर निर्क्यौल गरिएको भन्दै भन्छन्, ‘यो विषयमा पनि गम्भीर जाँच गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4