+
+

कांग्रेस र माओवादी मिल्दा रोल्पामा निर्वाचन हिंसा कम हुने आशा

महेश न्यौपाने महेश न्यौपाने
२०७९ मंसिर ३ गते १७:४६

३ मंसिर, रोल्पा । रोल्पामा यस पटक निर्वाचन हिंसा कम हुने सरोकारवालाहरुले आंकलन गरेका छन । निर्वाचन हिंसाका मुख्य पक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस आपसमा गठबन्धन गरेर निर्वाचनमा सहभागी भएकाले निर्वाचन हिंसा कम हुने आकलन गरिएको छ ।

महिला अधिकारकर्मी तीर्था आचार्य विगतमा जिल्लाको पहिलो शक्ति माओवादी केन्द्र र दोस्रो शक्ति नेपाली कांग्रेस प्रतिस्पर्धामा हुँदा चुनावी हिंसाको घटना भएको बताउँछिन् । निर्वाचन वहिस्कार गर्ने पक्षबाट भने मतदातामा भय यथावत रहेको उनको भनाइ छ । ‘सामाजिक सञ्जाल र फोनबाट भोट नहाल्न धम्की आउने गरेको सुनिन्छ’, आचार्यले भनिन् ।

बागी उम्मेदवारी दिएपछि बढ्दै गएको नेकपा माओवादी केन्द्रको आन्तरिक विवादले भने चूनावी हिंसालाई बल पु¥याउन सक्ने नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगरले बताए । बागीलाई समर्थन गरेको भन्दै नेकपा माओवादी केन्द्र रोल्पाले आफ्ना तीन जना कार्यकर्तालाई कारवाही गरिहेको छ । नेपाली कांग्रेसका उम्मेदवार रहेको प्रदेशसभाको एक निर्वाचन क्षेत्रमा माओवादी नेताले बागी उम्मेदवारी दिएका छन् ।

सुरक्षा संवेदनशीलतालाई ध्यान दिई जिल्लामा रहेका ८६ मतदानस्थललाई तीन भागमा वाडेर सुरक्षा योजना बनाइएको प्रहरीले बताएको छ । मतदान स्थललाई ३१ अतिसंवेदनशील, ४२ संवेदनशील र १३ सामान्य गरी बर्गीकरण गरिएको छ । अति संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था कडा गरिएको सुरक्षा अधिकारीहरुको भनाइ छ ।

म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रहने गरी तीन तहको सुरक्षा घेरा बनाई निर्वाचन सुरक्षाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । निर्वाचन सुरक्षाका लागि जिल्लामा करिव २ हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघिको निर्वाचनमा रहेका मतदान स्थलमा यस पटक ५ वटा थप गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । ती मतदान स्थलमा १७७ वटा मतदान केन्द्र रहने छन ।

जिल्लामा मतदाता शिक्षाको अभावमा यस पटक धेरै मत बदर सक्ने जिल्लाका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचनका लागि एउटा मात्रै क्षेत्र रहेको जिल्लामा १ लाख ४५ हजार ४७१ मतदाता छन । प्रदेश सभा १ मा ६८ हजार १६४ र प्रदेश सभा २ मा ७७ हजार ३०७ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?