भर्खरै सम्पन्न निर्वाचनको परिणामले स्पष्ट सन्देश दिएको छ- जनता विकल्प खोजिरहेका छन् । जनतामा पुराना दलहरूप्रति वितृष्णा बढ्दै गएको छ । अब जनता कस्ता नेता चाहन्छन् भन्ने केही संकेत देखिन थालेका छन् ।
शहरमा परिवर्तन चाहने मत प्रत्यक्ष र समानुपातिक दुवैमा अभिमत भएको देखियो । दुर्गम स्थानहरूमा पनि कम्तिमा समानुपातिकमा भए पनि सबैले उही ‘मम, चाउमिन’ नरोजी कहिले ‘पिज्जा, बर्गर’ पनि चाखेर हेरौँ भनेझैँ देखियो।
सक्षम युवाको पक्षमा भोट
काठमाडौं-६ मा लामो समय टिच फर नेपालको सह-संस्थापक लगायत अन्य भूमिकामा रही शिक्षा सुधारका लागि कार्यरत शिशिर खनाल विजयी भए । ललितपुरमा-३ स्वास्थ्य सेवा सुधारका लागि प्रयासरत डा. तोसिमा कार्कीले जितिन् । यसले अब सचेत नागरिक ‘हाम्रो’ भन्ने दलदलबाट ‘राम्रो’ दल चयनतर्फ अग्रसर भएको सङ्केत गरेको छ ।
समय समयमा विभिन्न आकर्षक राजनीतिक नारा दिएर जनता माझ सान्दर्भिक रहिरहन जोड बल गरिरहेका राजनीतिक दलहरू नयाँ अनुहार र नयाँ नतिजा भित्र्याउन असमर्थ देखिएका छन् । देशकै मुटु राजधानीका जनताले सक्षम युवा उम्मेदवारलाई विजय गराएर नयाँ तरङ्ग भित्र्याएका छन् । यससँगै विकल्प भएसम्म जनतले विरासत, उग्र राष्ट्रवाद, जाति, क्षेत्र र धर्मको राजनीतिप्रति रुझान नभएको पनि प्रस्ट पारेका छन् ।
ठूला दलमा देखिएको नातावाद, कृपावाद र असक्षमताबाट आजित भएका जनताले खोजेको विकल्प ‘वैकल्पिक’ राजनैतिक दलहरूले पनि दिन नसक्दा स्वतन्त्र र लोकप्रिय उम्मेद्वारहरूमा मत खन्निएको हो। प्रधानमन्त्रीकै जिल्लामा सागर ढकालले सम्मानजनक मत ल्याए । उनले तीन दशक पुरानो विरासतलाई धक्का दिएर परम्परागत दलहरूको यथास्थितिवादी अकर्मण्यताको क्रमभंगता हुनै लागेको संकेत दिए ।
यी युवाहरूले प्राप्त गरेको मतलाई कसैले ‘परम्परागत दलहरूलाई नो भोट’ त कसैले ‘दलहरूप्रति अविश्वासको मत’ भनेर टिप्पणी गरिरहँदा हामीले यसलाई युवापुस्ताप्रतिको विश्वासको मत भनेर बुझौँ । भविष्यको पक्षमा आएको मत भनेर बुझौँ ।
यसबाट एक्काइसौँ शताब्दीको विकसित विश्वलाई बुझेर समाजलाई समयसापेक्ष दिशामा डोर्याउन सक्ने नेतृत्व आवश्यकताको अनुभूति हुँदै गएको प्रतित हुन्छ। गाउँभन्दा बढी ठूला सहरमा यो परिवर्तनले चाँडो फड्को मार्नुमा विदेशमा रहेका नेपाली र युवा पुस्ताले सामाजिक सञ्जालमा चलाएका अभियानहरूको पनि भूमिका छ ।
केही आशा, केही संशय
सचेत, शिक्षित र सिपयुक्त युवाहरूले देशको आर्थिक, सामाजिक, राजनीतिक आयामलाई बदल्न सक्छन् । विदेशको बसाइमा देखेका सुशासन, विधिको शासन र कार्यशैली देखेर फर्केका युवा नेतृत्व गर्ने सबै अवस्थामा नभए पनि प्रश्न गर्ने र सुझाव दिने स्थानमा भने पुगेका छन् । अब पार्टीहरू उम्मेदवार चयन प्रक्रिया फेर्नुपर्ने दबाब बढेर राम्रा प्रतिनिधिलाई टिकट दिन बाध्य हुनेछन्।
प्रारम्भिक चयन प्रक्रियामा नै आधारभूत परिवर्तन आउने छ। अब नेताले उम्मेदवार खल्तीबाट निकाल्नु गल्ती हुनेछ। समाजमा भिजेको, सक्षम व्यक्तिहरू दलको चयनमा पर्ने सम्भावनासँगै पार्टीहरू भित्रै पुस्तान्तरण र आन्तरिक लोकतन्त्रका आवाज सशक्त हुने छन् । यी त भए आशाका कुरा ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थानीय तह स्वायत्त र सार्वभौम हुनाले बिस्तारै सङ्घीयताका सफल अभ्यास भएका देशहरूझैँ स्थानीय तहमा गैरदलीय या दलगत आस्था भन्दा विकासको आशा बढी निर्णायक हुन सक्छ। अब राष्ट्रिय राजनीतिमा समेत स्थानीय तहमा जस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र गैरदलीय राष्ट्रपतिको व्यवस्थाको बहस फेरि छेडिन सक्छ। तर केही साँघुरो चिन्तन भएका व्यक्ति र समूह संविधानवाद (गणतन्त्र, सङ्घीयता) लाई प्रहार गर्न पनि प्रयास गर्ने छन् । तर अब खारेजी गरेर पछि जाउँ भन्नेलाई भन्दा जनताले आउनुहोस् व्यवस्था सुधारौँ, नागरिकको अवस्था परिवर्तन गरौँ, गणतन्त्रको सुदृढीकरण, सङ्घीयतामा आवश्यक सुधार गरौँ भन्नेलाई बढी रोजेको देखिन्छ।
सक्षम र नयाँ अनुहारको खोजी यस निर्वाचनमा ४० वर्ष मुनिका केही ५० वर्ष मुनिका धेरै निर्वाचित भएका छन् । जनचेतनाको बिस्तार र सूचनाको अभिवृद्धिसँगै जनता आज प्रश्न गर्न सक्षम भएका छन् । उम्मेदवारको व्यक्तिगत क्षमता र विश्वसनीयता बिना पार्टीको ह्विपकै भरमा कसैको जित सुनिश्चित हुने अवस्था अब रहेन। लोकतन्त्रमा जनमत जित्नु छ भने अब परम्परागत सङ्गठनात्मक शक्ति मात्रै अपुग हुन सक्छ। आम जनताले अब डेलिभरी दिन सक्ने नेता चाहेका छन्।
आज देश समृद्ध नहुनुमा व्यवस्थाको दोष हैन, व्यवस्थापनको हो ! हजारौँ जनताको बलिदानले आएको उपलब्धिलाई आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा एक-दुई पात्रको भ्रष्टता र असक्षमतालाई हेरि व्यवस्था ठिक भएन भन्ने बेला आइसकेको छैन । समस्या पात्रको हो, प्रणालीको हैन । खोक्रो राष्ट्रवाद, जाति र सम्प्रदायको राजनीति गर्ने दक्षिणपन्थीहरूलाई निर्वाचनमा सचेत जनताले प्रश्न गर्दै छन्: भ्रष्टाचार रोक्न कुन साम्राज्यवादले रोक्यो ? शिक्षा सुधार गर्न कुन विदेशी शक्तिले छेक्यो? तिम्रो पश्चगामी नाराले स्वदेशमै रोजगार कसरी बढाउँछ ?
यो निर्वाचनमा पुराना दलहरूप्रति वितृष्णा बढ्दै गएको सन्देश दिएको छ । अब कि पुराना शक्ति सच्चिनु पर्छ कि उनीहरूको ठाउँ नयाँले लिन्छन् । जनताले समृद्धिको नयाँ बाटोमा अघि बढ्न चाहेको अभिमत व्यक्त गरेका छन्, यो सन्देश नबुझ्ने शक्तिहरूको आकार थप साँघुरिने निश्चित छ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4