+
+

उत्कृष्ट बलिङ गरे पनि नेपाल ३ विकेटले पराजित, स्कटल्याण्ड शीर्ष स्थानमा उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १९:५०

१८ मंसिर, काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग पराजित भएको छ ।

विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नेपालले दिएको १३८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले ३२.१ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

लो स्कोरिङ खेलमा दुवै टोलीले ब्याटिङमा संघर्ष गरेका थिए । नेपालले थोरै रन बनाए पनि उत्कृष्ट बलिङ गर्दै स्कटल्याण्डको ७ विकेट लिन सफल भएको थियो ।

यस जितपछि ३० खेलबाट ४४ अंक जोड्दै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लेको छ भने शीर्ष तीनमा रहँदै अर्को वर्ष हुने ओडीआई विश्वकपको ग्लोबल क्वालिफायरमा पनि लगभग स्थान पक्का गरेको छ ।

लिग टु मा सबै ३६ खेल नै खेलिसकेको ओमानको पनि ४४ अंक नै छ । तर राम्रो नेट रनरेटमा स्कटल्याण्ड शीर्षमा छ । नेपाल भने २२ खेलपछि १८ अंकसहित छैटौं स्थानमै छ ।

पहिलो खेलमा नामिबियालाई हराएको स्कटल्याण्डले नेपाललाई हराएर शृंखलामा लगातार दोस्रो जित निकालेको हो ।

स्कटल्याण्डका लागि क्रिस्टोफर म्याब्रिड्जले सर्वाधिक ४३ रन बनाए । ब्रान्डन म्याक्मुलेनले अविजित रहँदै ३२ रन बनाए । यस्तै माइकल लिस्कले २२ रन जोडे ।

नेपालका लागि सागर ढकाल, गुलशन झा र ललित राजवंशीले समान २ विकेट लिए । यस्तै दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनाएको थियो । नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गरेका गुल्सन झाले सर्वाधिक २९ रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

ज्ञानेन्द्र मल्लले २५, अर्जनु साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई अलआउट गर्न स्कटल्याण्डका क्रिस सोलले ३ तथा मार्क वाटले २ विकेट लिए । ब्रान्डन म्याकमुलेन, सफ्यान सरिफ र माइकल लिस्कले समान १ विकेट लिए । नेपालले अब बुधबार नामिबिया र बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?