
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलप्रति दर्शकको चासोलाई ध्यानमा राख्दै र्याप गायन प्रतिस्पर्धा ‘भुकण्डो ब्याटल फेस्ट’ आयोजना हुने भएको छ ।
तीन चरणमा ब्याटल गरिने यो प्रतिस्पर्धामा र्यापर मानस घले जजको रुपमा हुनेछन् । अर्का र्यापर भोयोमा सञ्चालक हुने आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
आरएनएस क्रिएसनले आयोजना गर्ने कार्यक्रममा प्रतियोगीले फुटबल खेलाडीहरु पेले, म्याराडोना, मेसी, रोनाल्डोसहित विश्वकपमा प्रतिस्पर्धा गरिरहेका देशहरु ब्राजिल र अर्जेन्टिनालाई समर्थन गर्दै र्याप गीत प्रस्तुत गर्नेछन् ।
प्रतियोगी मेक (अर्जेन्टिना), भोइड (पेले), रमन (म्याराडोना), सेभेक (ब्राजिल) भएर स्टेजमा देखिने छन् । प्रतिस्पर्धाको पहिलो एपिसोड सार्वजनिक भइसकेको छ । जसमा ब्राजिलको समर्थनमा सेभेक भर्सेस अर्जेन्टिनाको समर्थनमा मेकले प्रस्तुति दिएका छन् ।
दर्शकको भोटको आधारमा प्रतियोगी पहिलो, दोस्रो र तेस्रो हुनेछन् । दर्शकको भोटको आधारमा विजेता छनोट गरिने भएको छ ।
विजेताले २५ हजार र सहभागीले १० हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ । अन्तिम नतिजा विश्वकप फाइनलको एक दिन अगाडि हुनेछ । यो कार्यक्रम डिशहोम र युटयुबमा हेर्न सकिनेछ ।
प्रतिक्रिया 4