+
+

बालुवाटारमा प्रचण्ड : कांग्रेसले सरकार चलाइसक्यो, अब मेरो पालो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते २२:१२

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत संसदीय दलको नेता चुनिए लगतै बालुवाटार पुगे । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर उनले आफ्नो नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने प्रस्ताव राखेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले बिहीबार मात्र सपथ लिएका छन् । सपथ लगतै माओवादीले सुरुमा पदाधिकारी र त्यसपछि संसदीय दलको बैठक राखेर प्रचण्डलाई सर्वसम्मत दल नेता बनाएको छ । प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘हाम्रो पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्न छलफल हुन्छ, आज नै गृहकार्यका लागि दल नेता र कांग्रेस दल नेताको भेटघाट हुन्छ ।’

सिंहदरबारमा दलको बैठक सकेर उनी सिधै बालुवाटार पुगेका थिए । जहाँ प्रधानमन्त्री देउवाका साथै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेताहरु कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की उपस्थित थिए । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत थपिएका थिए ।

स्रोतका अनुसार प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव नेताहरुसमक्ष राखेका छन् । प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवाको पनि दाबी छ । देउवा बुधबार मात्र संसदीय दलको नेतामा चुनिएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले भने अहिले कांग्रेसको सरकार भएकाले राष्ट्रपति लिएर आफूलाई प्रधानमन्त्री छाड्नुपर्ने बताएका छन् । ‘कांग्रेसले सरकार चलाइसक्यो, अब हामीले नेतृत्व पाउनुपर्छ’ माओवादीका एक पदाधिकारी भन्छन्, ‘हाम्रो पदाधिकारी बैठकमा त्यही कुरा भएको छ ।’

नेताहरुका अनुसार यसमा कुनै सहमति भएको छैन । बालुवाटार बैठकमा बैठकमा सहभागी कांग्रेस उपसभापति खड्का भने शक्ति बाँडफाँटबारे छलफल नै नभएको दाबी गर्छन् । उनले अनलाइनखबरसँग भने, ‘गठबन्धनलाई निरन्तरता दिने, चाँडै सरकार बनाउने भन्ने छलफल भएको छ ।’

सहमतिको प्रयासमा भोलि फेरि गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्नेछ । यद्यपि भोलिसम्म सत्ता गठबन्धनमा टुंगो गर्ने मुडमा प्रचण्ड देखिएका छन् ।

यदि कांग्रेस सरकारको नेतृत्व दिन तयार नभए नेकपा एमालेसँग सम्वाद गर्ने माओवादी नेताहरुको तयारी छ । ‘गठबन्धनमै सहमति खोज्ने हाम्रो प्राथमिकता हुन्छ । तर एमालेले पनि प्रस्ताव गरिरहेको छ,’ माओवादीका अर्का पदाधिकारी भन्छन्, ‘अहिले यसै हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।’

एमालेले गठबन्धनमा खटपट आउँछ कि आउन्न भनेर हेरिरहेको छ । बिहीबार बसेको एमाले पदाधिकारी बैठकमा समेत गठबन्धन कसरी जान्छ, त्यसअनुसार कदम चाल्नेबारे छलफल भएको थियो ।

एक पदाधिकारीका अनुसार बैठकमा अध्यक्ष ओलीले गठबन्धन कायम रहँदासम्म एमालेले पहल लिने अवस्था नभएको बताए । तर सबै दलसँग सम्वाद भइरहेको र त्यसलाई तीव्र बनाइने उनको धारणा थियो । ‘हामी कांग्रेस र माओवादी दुबैसँग सम्वादमा छौं, तर देउवाभन्दा प्रचण्डप्रति सफ्ट हुनसक्छौं,’ एक पदाधिकारी भन्छन्, ‘अध्यक्ष स्वयमले पनि गठबन्धन छाडेर आए प्रचण्डसँग (प्रधानमन्त्री पदबारे) खुला कुराकानी गर्न सकिन्छ भन्नु भएको छ ।’

माओवादी केन्द्रका नेताहरु पनि कांग्रेससँग सहमति नभएको अवस्थामा एमालेसँग मिल्ने सम्भावना देख्छन् । तर एमाले र माओवादी मिलेर मात्र सरकार बन्दैन । अरु दलको समर्थन जुटाउन पर्छ । हाल सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका नेताहरु एमालेसँग मिल्न तयार देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?