
२६ पुस, काठमाडौं । नेपाली कांग्रेसले झण्डै १८ महिनादेखि आफ्नो नेतृत्वको गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई चुनावपछि साथमा राख्न सकेन ।
आलोपालो सरकारको नेतृत्व गर्न सहमत भएका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच को पहिला प्रधानमन्त्री हुने भन्ने विषयमा विवाद भयो ।
आफूलाई प्रधानमन्त्री बनाउन देउवा सहमत नभएपछि प्रचण्डले एमालेसँग गठबन्धन बनाए । एमाले अध्यक्ष केपी ओलीको समेत समर्थनमा १० पुसमा प्रधानमन्त्री बने । उनले मंगलबार विश्वासको मत लिंदा भने कांग्रेस पनि समर्थन गर्न आइपुग्यो ।
प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयबारे टिप्पणी गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भनेका छन्, ‘घरजम छँदा प्रेम टुट्यो, डिभोर्स भइसकेपछि माया बस्यो भने जस्तो अवस्था आज संसदमा देखियो ।’
पार्टीको संसदीय दलको निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा र शर्मासहित ५ नेताले भने फरक मत राखेका थिए । आफूहरुको अवस्थालाई भने उनले विम्बात्मक रुपमा सुनाए ।
‘कुनै जोडीले भागेर विवाह गरिसकेपछि बोलाएर टिकाटालो गर्नुपर्छ या पर्दैन भनेर परिवारका सदस्यहरुको बीचमा फरक मत आउँदो रहेछ । विवाह गरेर गइसकेको जोडीलाई बोलाएर टिकाटालो गर्दै गर्दा सबै सामेल हुनुपर्दोरहेछ’ शर्माले संघीय संसद भवन बाहिर पत्रकारहरुसँग भने ।
प्रतिक्रिया 4