
काठमाडौं । भायानेट कम्युनिकेसनले सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डीआरएस गेमिङका सदस्यहरुलाई सम्मान गरेको छ ।
कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच भायनेटका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले डीआरएसका टोली सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविनकुमार प्रजापति र समर गुरुङलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा डीआरएसले पीएमजीसी ग्लोबल च्याम्पियनसीपको आफ्नो फाइनलसम्मको प्रेरणादायी यात्रा र उनीहरुको ग्लोबल पीएमजीसी एरेनामा अगाडि बढ्न नेपालको इन्टरनेट कनेक्टिभिटीको भूमिका बारेमा बोहराले जानकारी गराएका थिए ।
उनीहरुले नेपालको इन्टर्नेट कनेक्टिभिटीले नेपाली इस्पोर्ट उद्योगलाई विकसित गर्न र व्यावसायिक गेमरहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न अनुमति दिने अन्तर्राष्ट्रिय स्तरको बनाउनको लागि लामो यात्रा गरेको उनले बताए ।
डीआरएस गेमिङका अपरेसन प्रमुख संगिन भट्टराईले कम पिङ, स्थिर जडान र शीघ्र सेवाका कारण नै भायानेटको इन्टरनेट उनीहरूको पहिलो रोजाइमा परेको पनि उनले बताए ।
भायानेट सीईओ सेवा पाठक बोहराले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्नका लागि गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने लक्ष्य रहेको बताए ।
नेपालको सबैभन्दा लोकप्रिय पबजी टोलीहरू मध्ये एक डीआरएस गेमिङले जनवरी ८ मा इन्डोनेसियाको जकार्तामा आयोजित सबैभन्दा ठूलो पबजी गेमिङ प्रतियोगितामा विश्वभरका ५१ उत्कृष्ट टोलीहरू मध्ये उपविजेता बनेर इतिहास रचेको थियो। टोलीका सदस्यहरूले उक्त ऐतिहासिक प्रदर्शनको लागि दुई लाख डलर नगद राशी जित्न सफल भएका थिए।
प्रतिक्रिया 4