+
+

आन्तरिक उडानकै ठूलो जहाज दुर्घटना, पहिलो एटीआर

अच्युत पुरी अच्युत पुरी
२०७९ माघ १ गते २०:०७

१ माघ, काठमाडौं । ७२ जना सवार यती एयरलाइन्सको विमान आइतबार विहान पोखराको सेती खोंचमा दुर्घटना भयो । काठमाडौंबाट विहान १०ः३० बजे ६८ जना यात्रु लिएर उठेको विमानमा चार जना चालक दलका सदस्य थिए ।

दुर्घटनामा परी मृत्यु भएका ६२ जनाको शव निकालिएको छ । अहिले पनि उद्धार जारी छ । उद्दारबारे अनुगमन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कन्ट्रोल रुममा पुगेका थिए । पोखरा जाने कार्यक्रम भने स्थगित भयो ।

आइतबार नै मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको जाँचबुझका लागि आयोग बनाएको छ भने अन्तरिक उडान गर्ने सम्पूर्ण विमानको प्राविधिक परीक्षण अनिर्वाय गर्न निर्देशन दिएको छ । विगतमा पनि हरेक दुर्घटनापछि जाँचबुझ आयोग बन्ने गरेको छ, तर दुर्घटनाको क्रम रोकिएको छैन ।

पछिल्लो पटक १५ जेठ २०७९ मा तारा एयरको जहाज दुर्घटनामा परेको थियो । यो दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको निधन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार भएको दुर्घटना ५८औं हो ।

यसअघि नेपालमा ५७ वटा दुर्घटनामा परिसकेका थिए, जसमध्ये दुई वटा इन्जिन भएका जहाज ४९ वटा दुर्घटनामा परिसकेका छन् । ८ वटा जहाजमा सिंगल इन्जिन थियो ।

नेपालको आन्तरिक उडानतर्फ पहिलो दुर्घटना विसं २०१८ सालमा भएको थियो । भैरहवामा भएको ९-एन एएडी जहाज दुर्घटनामा ४ जना यात्रुले ज्यान गुमाएका थिए ।

नेपालको हवाई इतिहासमा हेलिकप्टर दुर्घटनाको संख्या ३६ पुगिसकेको छ । नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङटाङमा दुर्घटनामा परेको थियो । यो हेलिकप्टरमा भीभीआई सवार थिए । पछिल्लो पटक सन् २०१९ मा मनाङ एयरको एनएन-एएलसी हेलिकप्टर दुर्घटनामा परेको थियो ।

पहिलो एटीआर दुर्घटना, धेरै मृत्यु

एटीआर जहाज, नेपालमा सबभन्दा सुरक्षित मानिन्छ । नेपालमा बुद्ध एयरसँग सबभन्दा धेरै १४ वटा र यति एयरलाइन्ससँग ६ वटा एटीआर जहाज छन् । यो एटीआर ७२-५०० विमान थियो ।

तर आइतबार त्यही जहाज दुर्घटनामा पर्‍यो । यसले मृतकको संख्या पनि धेरै भएको छ । नेपाली सेनाका अनुसार विमानमा सवार ७२ मध्ये अहिलेसम्म ६२ जनाको मृत्यु पुष्टि भइसक्यो भने अरुको उद्धार चलिरहेको छ ।

नेपालको आन्तरिक उडानमा भएको दुर्घटनामा मृतकको यो संख्या अहिलेसम्मकै ठूलो हो ।प्राधिकरणका अनुसार आइतबारको घटनाअघि नै नेपालको आन्तरिक उडानमा भएका दुर्घटनामा ३६३ जना यात्रुको जहाज दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनाग्रस्त विमानमा सवार १३९ जना यात्रुको भने जीवितै उद्धार भएको रेकर्ड छ ।

सबभन्दा धेरै यात्रुको मृत्यु भने सन् २००० मा भएको जहाज दुर्घटनामा भएको थियो । डडेलधुराको जोबुढामा भएको त्यो दुर्घटनामा २५ जना यात्रुको मृत्यु भएको थियो । यो पटक भने त्योभन्दा बढी मानवीय क्षति भएको छ ।

नेपालमा भएको ठूलो दुर्घटना

नेपाली आकासका भएको अहिलेसम्मकै ठूलो दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको जहाज दुर्घटना हुँदा १६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको जहाज दुर्घटनामा ११३ यात्रुले ज्यान गुमाएका थिए ।

पछिल्लो पटक सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बङ्ला कम्पनीको जहाज दुर्घटनामा गर्दा ५१ जना यात्रुको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा १० वटा विदेशी मुलुकका जहाज दुर्घटनामा परेका छन् र ३७३ जना यात्रुले ज्यान गुमाएका छन् ।

तर, यी अन्तर्राष्ट्रिय उडानका विमान दुर्घटना थिए, आन्तरिकतर्फ आइतबार पोखराको विमान दुर्घटना इतिहासकै ठूलो क्षति गरेको दुर्घटना हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?