+
+
रोशन गाहा मगर :

२०७४ मा अवसर गुमाए, फेरि जितेपछि मन्त्री पाए

अमृत सुवेदी अमृत सुवेदी
२०७९ माघ १० गते २०:४१

१० माघ, पोखरा । २०७४ सालको प्रदेशसभा चुनाव जितेका ६ जनालाई नेकपा (एमाले)ले यसपटक पनि दोहोर्‍याएर टिकट दियो । जसमध्ये नवलपरासी पूर्व–१ (२) का रोशनबहादुर गाहामगर मात्र निर्वाचित भए ।

चुनावी मैदानमा एमाले विरुद्ध कांग्रेस–माओवादीसहितको ५ दलीय गठबन्धन थियो । त्यतिबेला गाहालाई मात्रै होइन, धेरै एमालेलाई लागेको थियो, चुनाव जिते पनि मन्त्री हुने होइन ।

गाहाले चुनाव जिते, यता गठबन्धन पनि फेरियो, केन्द्रमा एमाले–माओवादीलगायतका दल मिलेर सरकार बन्यो । प्रदेशहरुमा पनि त्यही अनुसार हुने भएपछि आफ्नो लागि पनि ढोका खुलेको उनले बुझे ।

२०७४ सालको चुनावमा गठबन्धन गरेको पार्टी माओवादीका लोकप्रसाद भुर्तेल यसपटक नवलपरासी पूर्व–१ (२) मा गाहाका प्रतिस्पर्धी थिए, जसलाई उनले साढे ३ हजार मतान्तरले हराएका थिए । त्यही माओवादीको समर्थन हुँदा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारमा नपरेका गाहाले यसपटक खगराज अधिकारी नेतृत्वको सरकारमा मन्त्री बन्ने मौका पाएका छन् ।

अघिल्लो पटक नै अर्थमन्त्रीका रुपमा चर्चा गरिएका गाहालाई मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुभन्दा अघिल्लो दिन पुस २८ गते प्रमुख सचेतक चयन गरेका थिए ।

मन्त्रीको चर्चामा रहेका उनलाई अब सचेतकमै थन्क्याइने आशंका पनि थियो । उनी स्वयं पनि विश्वासको मत लिने प्रयोजनका लागि मात्र आफू प्रमुख सचेतक बनेको बताइरहेका थिए । तर, अन्ततः उनी आन्तरिक मामिला मन्त्री बनेका छन् ।

०७४ मा गुमेको अवसर

२०७४ चैत पहिलो हप्ता रोशनबहादुर गाहामगरलाई गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए, ‘अर्थमन्त्री बन्ने अवसर आउन सक्छ, तयार भएर बस्नू ।’ ४ फागुनमा गुरुङले एमालेका रामशरण बस्नेत, माओवादीका हरिबहादुर चुमान र लेखबहादुर थापालाई मात्र मन्त्री नियुक्त गरेका थिए ।

एमालेभित्रै भने कसकसलाई मन्त्री बनाउने भन्ने टुंगिएको थिएन । मुख्यमन्त्री बन्ने योजनासहित स्थायी कमिटी सदस्य किरण गुरुङ पनि प्रदेश सभाको चुनाव जितेर आएका थिए । पृथ्वीसुब्बा भने किरणलाई आफू नेतृत्वकै मन्त्रिपरिषदमा समावेश गर्न चाहेका थिए । तर किरणले मन्त्री बन्न चाहेका थिएनन् । त्यसैले पृथ्वीसुब्बाले अर्थमन्त्रीमा रोशनलाई तयार रहन भनेका थिए ।

पछि केन्द्रीय नेताहरुको आग्रहमा किरण अर्थमन्त्री बन्न राजी भएपछि रोशनले अवसर पाएनन् । रोशन गाहामगर गण्डकी प्रदेश सभामा संसदीय अनुभव बटुलेका थुप्रै सांसदमध्ये एक हुन् । खगराजले मुख्यमन्त्री दाबी गर्दादेखि विश्वासको मत लिने प्रक्रियासम्म कागजपत्र मिलाउनेदेखि अन्य भूमिका खेल्नेमध्ये गाहा नै थिए ।

समानुपातिक प्रणालीमार्फत पहिलो संविधान सभा सदस्य बनेका गाहा गण्डकीमा मन्त्री हुने अवसर नपाए पनि सरकार ढलेपछि सार्वजनिक लेखा समिति सभापति बनेका थिए ।

लेखा समितिको सभापति कुमार खड्का कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएपछि प्रतिपक्षी दल एमालेका तर्फबाट गाहामगरले समिति सभापतिका हैसियतले गाडीसहितको सुविधाको पदमा पुगेका थिए ।

२०२० सालमा पाल्माको सलकोटमा जन्मिएका गाहा अहिले नवलपरासी पूर्वको कावासोती नगरपालिका– २ भाट्टोलाका बासिन्दा हुन् ।

२०३५ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका गाहा २०३६ सालमा पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएपछि भएको विद्रोहको क्रममा नेपालमा आन्दोलन गर्दा २५ दिन जेलसमेत परेका थिए ।

२०४३ सालमा शिवमन्दिर गाउँ पञ्चायतको उपप्रधानपञ्च पदमा निर्वाचित भएका गाहा २०४९ सालमा तत्कालीन शिवमन्दिर गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका थिए । २०६४ सालमा संविधान सभा सदस्यमा समानुपातिकबाट निर्वाचित भएका उनी सार्वजनिक लेखा समिति सदस्य र राष्ट्रिय हित संरक्षण समिति थिए ।

जिल्लाको विभिन्न तहमा काम गर्दै आएका गाहा २०६९ मा नेकपा एमालेको जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?