 
																			२५ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी तथा विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष इमर्जेन्सी मेडिकल टिम निर्माण तथा परिचालन गर्ने भएको छ ।
मन्त्रालयले तयार पारेको न्युतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा इमर्जेन्सी मेडिकल टिमको क्षमता अभिवृद्धि र मेडिकल टिम परिचालन गर्ने उल्लेख छ । मन्त्रालयले तयार पारेको कार्ययोजना अनुसार यसका लागि छुट्टै कार्यविधि तयार हुनेछ ।
यस्तैगरी, मन्त्रालयले विद्यमान संगठन संरचनालाई परिमार्जन गर्ने तयारी समेत गरेको छ । मन्त्रालयअन्तर्गतका स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग र संघअन्तर्गतका संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने कार्ययोजना तयार गरेको छ ।
कार्ययोजनामा २०७९ फागुनभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी समिति गठन गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृती लिइसक्ने उल्लेख छ । ०७९ चैतभित्र तय भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण मन्त्रिपरिषद्बाट पास गरिसक्ने समयसीमा तोकिएको छ ।
स्वास्थ्य बिमालाई समयवद्ध कार्ययोजनामार्फत लागू गर्न राष्ट्रिय स्वास्थ्य बिमा आवधिक कार्ययोजना (२०८०–२०८५) तर्जुमा गरी लागू गर्ने, अस्पताल विकास समिति गठन आदेशहरूलाई प्रतिस्थापन गर्ने गरी संघ अन्तर्गतका सबै अस्पतालहरूलाइ परिचालन गर्ने एकीकृत अस्पताल विकास समिति गठन आदेश तर्जुमा गर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनहरूलाई प्रतिस्थापन गर्ने गरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन तर्जुमा गर्ने लगायतका विषयहरु समेटिएका छन् ।
यस्तै, ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह जस्ता नसर्ने रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने सम्बन्धी कार्यविधि अद्यावधिक गरी कार्यान्वयन गर्ने, सबै बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर्न लक्षित विशेष कार्ययोजना बनाइ लागु गर्ने, महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक १ हजार ५०० रुपैयाँ उपलब्ध गराउने, सबै गर्भवती महिलाको गर्भावस्थाको नियमित स्वास्थ्यजाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट शतप्रतिशत प्रसूति सेवा सुनिश्चित गर्न लक्षित विशेष कार्ययोजना तयार गरी लागु गर्ने, ग्रामीण तथा दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निशुल्क आपत्कालीन उद्धार गर्न हवाइ एम्बुलेन्सको व्यवस्था गर्ने न्युतम साझा कार्यक्रममा उल्लेख छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4