
१५ फागुन, काठमाडौं । काठमाडौंका कोटेश्वर र माइतीघरमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कोटेश्वरमा गएराति पौने १२ बजे नम्बर नखुलेको सवारी साधनको ठक्करबाट अन्दाजी ३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो । महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा राति सवा १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको र ठक्कर दिने सवारी साधनको पनि खोजी भइरहेको कोटेश्वर प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौंको माइतीघरमा आज बिहान पौने ६ बजे भ्यानको ठक्करबाट एक जना साइकल यात्री गम्भीर घाइते भएका छन् । बा १६ च ६६५५ नम्बरको मारुती भ्यानले चितवनको भरतपुर महानगरपालिका–८ घर भएका २९ वर्षीय कमल परियारलाई ठक्कर दिएको थियो ।
परियारको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने भ्यानसहित चालकलाई प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4