+
+

जापानमा कसरी फेला परे हजारौँ नयाँ टापु ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १०:१३

काठमाडौं । जापान टापुहरुको देश पनि हो । पछिल्लोपटक सन् १९८७ मा जापानले आफ्नो देशका टापुहरुको गणना गरेको थियो । तर त्यसबेलाको गणनादेखि अहिलेसम्ममा जापानमा टापुहरुको संख्या दोब्बरभन्दा धेरैले वृद्धि भएको छ ।

हालसम्मको आधिकारिक तथ्यांक अनुसार जापानमा ६ हजार ८५२ वटा टापु छन् । जसमध्ये केवल २६० वटामा मात्रै मानव बसोबास छ । तर अब टापुहरुको यो संख्यामा ७ हजारभन्दा धेरै टापु थपिनेछन् । अर्थात् नयाँ गणना अनुसार जापानमा कूल टापुको संख्या १४ हजार १२५ पुगेको छ ।

तपाईंलाई लाग्ला यतिधेरै टापु हुँदाहुँदै पनि त्यति धनी मुलुकले समेत किन पहिले नै गणना गर्न सकेन होला ? कहिलेकाहिँ ३ लाख ७० हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका यी साना–ठूला टापुहरु गणना गर्न तथा मिलाउन कठीन हुन्छ । कहिलेकाहिँ त्यो छासमिस पनि हुन्छ र गिन्ती छुट्छ पनि । कहिलेकाहिँ गलत पहिचान पनि हुन्छ । जसका कारण टापुहरु छुटेका हुन्छन् ।

संयुक्त राष्ट्रसंघीय महासन्धिका अनुसार जुन जमिन चारै तर्फबाट पानीले घेरिएको हुन्छ र अग्लो ज्वारभाटाका बेला समेत पानीले डुब्दैन र समुद्रमाथि नै हुन्छ त्यसलाई टापु भनिन्छ । तर टापुहरुलाई खोजेर त्यसलाई टापु घोषित गर्नु सजिलो हुँदैन । त्यसमा धेरै मिहिनेत र स्रोतसाधन खर्च हुन्छ ।

जापानी द्वीप समूह प्रशान्त महासागरको रिंग अफ फायरको हिस्सा हो । यो सबैखाले भूगर्भीय र भौगोलिक हिसाबले सक्रिय छ । त्यसैले कैयन् पटक त्यहाँ हुने ज्वालामुखी गतिविधिका कारण कतिपय टापुहरु बाहिर निस्किन्छन् भने कतिपय समुद्रमा डुब्दछन् । त्यसैले त्यहाँका टापुहरुको गणना गर्न पनि गाह्रो हुन्छ ।

जापानी तट रक्षकले सन् २०१३ मा एउटा सानो टापु पत्ता लगाए । त्यसको नाम इसानबे हानाकिता कोजिमा राखियो । सो टापु ४.६फिट अग्लो थियो । तर केही दिनमै त्यो टापु समुद्रमा बिलायो । त्यसमा कसैको ध्यान पनि जाँदैन । तर जुन ठाउँमा टापु निस्कियो त्यो विवादित सामुद्रिक ठाउँ थियो । यसरी टापुहरु समुद्रमा तलमाथि आउने जाने गरिरहन्छन् ।

सन् २०२१ को संसदीय सेसनमा जापानको सरकारले आधुनिक डिजिटल म्यापिङ प्रविधिको घोषणा गरेको थियो । त्यसपछि जापानका टापुहरुको गणना पुनः सुरु गरियो । कुनैपनि देशलाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि उसका टापुहरुको सही संख्या र स्थान थाहा हुनु अत्यावश्यक हुन्छ ।

जियोस्पासियल इन्फरमेसन अथोरिटीले हवाई तस्वीर, पुराना नक्सा तथा अन्य डेटाहरुको सहयोगमा अन्ततः जापानमा कूल १४ हजार १२५ वटा टापु रहेको निष्कर्ष निकाल्यो । कम्प्युटर सर्भेमा १ लाखभन्दा धेरै टापु देखिएका थिए । तर संयुक्त राष्ट्रसंघको परिभाषामा भने ती सबै टापुको श्रेणीमा पर्न लायक थिएनन् । किनकी परिभाषा अनुसार १ सय मिटर वा त्यसभन्दा धेरै लम्बाइ भएको जमिनको टुक्रामात्रै टापुमा गणना हुन्छ ।

जापानमा कूल १४ हजार १२५ टापु रहेको नयाँ तथ्यलाई सरकारले केही दिनमै आधिकारिकता दिनेछ । ७ हजारभन्दा धेरै नयाँ टापु पत्ता लागेपनि त्यसले जापानको सिमाना र कूल क्षेत्रफलमा भने कुनै फरक पार्नेछैन । साथै मुलुकको सामुद्रिक सिमाना पनि यथावत रहनेछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?