 
																			४ चैत, विराटनगर । इटहरी उपमहानगरपालिकाको १२ औं नगरसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।
उपमहानगरपालिकाले २७ चैतभित्र हिउँदे नगरसभा सक्ने समय तालिका बनाए पनि नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी नभएपछि अनिश्चितकालका लागि स्थगित भएको हो ।
नगरसभामा सबैभन्दा महत्वपूर्ण विषय कर्मचारीको सेवा सुविधा सम्बन्धी ऐन संशोधन र कर्मचारीको आचारण सम्बन्धी ऐन पास गर्ने कार्यतालिका थियो । कर्मचारी सम्बन्धी ऐनको विषयमा इटहरीमा क्रियाशील राजनीतिक दलको नेतृत्वबीच सहमति भएकै आधारमा नगरसभाबाट टुग्याउने योजना रहेको थियो ।
यद्यपि, नगरसभाका क्रममा एमालेबाट विजयी जनप्रतिनिधि हाजिर गरेर निस्किएपछि कांग्रेसबाट निर्वाचित मेयर हेमकर्ण पौडेलले अनिश्चितकालका लागि नगरसभा स्थगित गरे ।
मेयर हेमकर्ण पौडेलले एमालेबाट निर्वाचित नगरसभा सदस्यले बहुमतको आडमा जनताको अभिमतलाई तिरस्कार गरेको आरोप लगाएका छन् । ‘बहुमतको दम्भले गर्दा उहाँहरु (एमालेका जनप्रतिनिधि) तगारो भएर इटहरीको विकासमा बाधा उत्पन्न गर्ने काम भइरहेको छ’, उनले भने, ‘म हँदैसम्म लचकताका साथ प्रस्तुत हुँदा पनि तगाारो बन्ने काम भइरहेको छ ।’
एमालेबाट निर्वाचित वडा नं १६ का वडाध्यक्ष तेजनारायण चौधरीले भने नगरसभा स्थगित गर्नुपर्ने परिस्थिति नहुँदा पनि मेयर पौडेलले हतारमा गरेको बताए । ‘सुरुमा हामीले हाम्रो तर्फबाट होमवर्क पुगेन स्थगित गरौं भनेर प्रस्ताव गर्दा मेयर नमानेर हामीसँग परामर्श नै नगरिकन सुरु गर्नुभयो’, उनले भने, ‘हाम्रो तर्फका साथीहरु केहीबेर आवश्यक सल्लाह गर्न बाहिर निस्किएकै बेला मेयर पौडेलले स्थगित गर्नुभयो ।’
नगरसभा सुरु भएको दिन माघ मसान्तसम्मको खर्च विवरण उपमेयर चौधरीले प्रस्तुत गरेकी थिइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4