४ चैत, अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा खुसी व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए ।
यस्तै प्रदेश सरकारले नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई एक लाख तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाली टोलीको अन्तिम १८ मा पर्न सफल सुदूरपश्चिमका कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको शाहीले बताए । सन्दीपले लिग टु को पहिलो सिरिज खेलेका थिए भने कमल र अर्जुन टिममा परे पनि लिग टु खेल्न पाएका थिएनन् ।
एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली टोलीलाई बधाईसमेत दिएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।
प्रदेश सरकारको पुरस्कार घोषणाप्रति खुसी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य भीम सार्कीले प्रोत्साहनले आगामी दिनमा क्रिकेट खेल्न हौसला मिलेको बताए । सुदूरपश्चिम प्रदेश सरकारको घोषणा निकै प्रसंसनीय रहेको उल्लेख गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री शाहलाई धन्यवाद दिए ।
‘अन्य प्रदेश सरकारबाट पनि खेलाडीलाई प्रोत्साहन मिल्ने हामीले आशा गरेका छौं’, उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तह सबैबाट खेलाडीको भविष्य सुनिश्चितका लागि सक्दो सहयोगको आवश्यकता छ ।’
सुदूरपश्चिम प्रदेश सरकारले यसअघि यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका सुदुरपश्चिमका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको थियो । नेपाली यू–१९ टोली हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपाल सन् २०२४ मा हुने आइसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका सुदूरपश्चिमका पाँच खेलाडीलाई जनही एक लाख तथा प्रशिक्षक र व्यवस्थापकसहित चार जनालाई जनही ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमबाट दीपक बोहरा, दीपक बोहरा (बी), मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द सहभागी थिए । यस्तै टोलीमा मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक धीरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए ।
 
                    










 २०७९ चैत  ४ गते १६:३२
                        २०७९ चैत  ४ गते १६:३२                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4