 
																			६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको बर्न वार्डका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । एक्सन एड नेपालको सहयोगमा बीभीएस (बर्न भोइलेन्स सर्भाइभर) नेपालले सोमबार एक कार्यक्रम गरी अस्पतालको बर्न वार्डका लागि उपकरण हस्तान्तरण गरेको हो ।
बर्न वार्डका लागि आवश्यक ८ वटा बर्न बेड, बिरामी सार्ने ट्रली, ड्रेसिङ ट्रली, प्यासेन्ट मोनिटर, फोल्डेबल चेयर, बेड साइट लकर, निबुलाइजर, सक्सन मेसिन, सेन्ट्रिफ्यूज मेसिन, काड्रिया टेबल लगायतका सामग्रीहरू हस्तान्तरण गरिएको बीभीएस नेपालका कार्यक्रम संयोजक दिपेन्द्र तिवारीले जानकारी दिए ।
बर्न वार्डका लागि स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्त्रण कार्यक्रममा बोल्दै शिक्षण अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन, प्राध्यापक ईश्वर लोहनीले बर्नका बिरामीको उपचार निकै महङ्गो हुने भएकाले प्राप्त यस्ता उपकरणले उपचारमा सहजता ल्याउने विश्वास व्यक्त गरे । सरकारी तवरबाटै आवश्यक उपकरण र सामग्रीको व्यवस्थापन गर्नुपर्ने भएपनि झन्जटिलो खरिद प्रक्रियाका कारण कतिपय अवस्थामा कठिनाइ व्यहोर्नुपर्ने र दाताहरू मार्फत् सहयोग लिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
शिक्षण अस्पतालले आफ्नो क्षमताले भ्यायसम्म बर्नका बिरामीलाई उपचार सेवा दिइरहेको भन्दै लोहनीले बर्नका बिरामीको उपचारमा पहिलेभन्दा सहजता हुँदै गएको बताए ।
कार्यक्रममा अस्पतालको प्लास्टिक सर्जरी एवम् बर्न विभागका प्रमुख डाक्टर जयनमान श्रेष्ठले सरकारी अस्पतालका आफ्नै खालका सिमितताहरू भएको भन्दै सहयोगी निकायहरूको यस्ता सहयोगले नै बर्नका बिरामीहरूको उपचारमा सजिलो भएको बताए ।
बीभीएस नेपालका कार्यक्रम निर्देशक प्रतिक्षा गिरीले अग्नीजन्य हिंसाका घटनामा परेका व्यक्तिहरूको उपचार खर्चिलो र अत्यन्तै कठिन रहेको भन्दै बर्न डेडिकेटेट अस्पतालहरूको पर्याप्त सुविधा नहुँदा नागरिक निकै कठिन अवस्थामा पनि उपचारका लागि राजधानी आउन बाध्य भएका बताइन् ।
अग्नीजन्य दुर्घटना तथा हिंसाका घटनामा परेका व्यक्तिको उपचारका लागि आवश्यक दक्ष जनशक्ति, उपकरण र बर्न वार्डहरूको उचित व्यवस्थापनमा सरकारले ध्यान दिन नसक्दा निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता रहेको भन्दै उनले त्यस्ता अस्पतालहरू कमजोर आर्थिक अवस्था भएका विपन्न नागरिकको पहुँचमा नरहेको बताइन् ।
शिक्षण अस्पतालमा हाल ९ शैय्याको बर्न वार्ड सञ्चालनमा छ । बीभीएस नेपालले शिक्षण अस्पतालसँगै बर्नका बिरामीको उपचार हुने पाटन अस्पताल, कान्ति बाल अस्पताल, पूर्वमा प्रादेशिक अस्पताल जनकपुर र पश्चिमको भेरी अस्पतालका लागि समेत अत्याधुनिक स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गर्दै आएको जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरमा १२ शैय्याको, पाटन अस्पतालमा ६ शैय्याको तथा कान्ति बाल अस्पतालमा २२ शैय्याको बर्न वार्ड सञ्चालनमा छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4