+
+
स्ववियु चुनाव :

नेविसंघ बढ्यो, अखिल उस्तै, क्रान्तिकारी खुम्चियो

कांग्रेस र एमाले निकट विद्यार्थी संगठनहरू नेविसंघ र अनेरास्ववियुले विगतको नतिजा लगभग कायम राख्दै गर्दा सत्तारुढ माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारी भने तुलनात्मक रूपमा खुम्चिंदो छ । चुनाव गर्न बाँकी क्याम्पसमा क्षतिको पूर्ति गर्ने उसको दाबी छ ।

नुनुता राई नुनुता राई
२०७९ चैत ८ गते १९:०५

८ चैत, काठमाडौं । विगतको तुलनामा धेरै वटा क्याम्पसमा स्ववियु चुनाव भएको, तर त्रिविका मुख्य आंगिक क्याम्पसमध्ये थुप्रैमा चुनाव हुन बाँकी रहेकाले अहिल्यै अन्तिम मत–विश्लेषण गर्नु हतारो हुन्छ । तर, अहिलेसम्मको नतिजा हेर्दा कांग्रेसको भ्रातृ संगठन नेविसंघ र एमालेको भ्रातृ संगठन अनेरास्ववियु सुदृढ अवस्थामा देखिन्छन् ।

सत्ता नेतृत्वकर्ता माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारी भने उपत्यकालगायत क्याम्पसमा पहिलेभन्दा घट्दो अवस्थामा देखिन्छ ।

६ वर्षअघिको स्ववियु चुनावमा अखिल क्रान्तिकारीले काठमाडौंमा ९ आंगिक क्याम्पसमध्ये तीन वटा अर्थात् पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ र सानोठिमी क्याम्पसमा जितेको थियो । योपल्ट भने उसले पहिले जितेका क्याम्पसमध्‍ये सानोठिमी मात्रै प्राप्त गर्न सफल भएको छ । अनि नेपाल ल क्‍याम्पसमा खाता खोलेको छ । त्यो पनि नेविसंघ र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूसँग तालमेल गरेर ।

अखिल क्रान्तिकारीले आफ्नो पराजय स्वीकार गरिसकेको छैन । चुनाव हुन बाँकी क्याम्पसहरूबाट क्षतिको पूर्ति गर्ने उसको दाबी छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनाली काठमाडौं उपत्यकाका आंगिक क्याम्पसमा अझै निर्वाचन बाँकी रहेको र तीमध्ये केही क्याम्पसमा जित्ने प्रबल सम्भावना रहेको तर्क गर्छन् । उनी भन्छन्, ‘हामीले २०७३ मा जितेको दुई वटा क्याम्पस गुमाए पनि नेपाल ल क्याम्पसमा जितेका छौं, बाँकी क्याम्पसमा चुनाव हुन बाँकी रहेकोले पूर्ति हुन्छ ।’

उपत्यका बाहिरका क्याम्पसहरूमा आशा गरेभन्दा राम्रो नतिजा ल्याउन सफल भएको उनले जिकिर गरे ।

क्रान्तिकारी रक्षात्मक बन्दै गर्दा नेविसंघले भने यसपटक उपत्यकाका आंगिक क्याम्पसहरूमा अप्रत्यासित जित निकालेको नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डे बताउँछन् । केही ठाउँमा नेविसंघले एकल र केहीमा संयुक्त प्यानल गरेर नेतृत्वमा जित निकालेको छ ।

भक्तपुर बहुमुखी क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती क्याम्पस, शंकरदेव, पद्मकन्या, थापाथली इन्जिनियरिङ र केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघले जितेको छ । यीमध्ये २०५७ सालपछि नेतृत्वमा नभएको सरस्वती बहुमुखी क्याम्पसमा (क्रान्तिकारी र समाजवादी विद्यार्थी संगठन) संयुक्त प्यानलमा, २०६० सालपछि पब्लिक युथ क्याम्पसमा, २०६२ सालपछि त्रिवि केन्द्रीय क्याम्पसमा सभापति लगायत पदमा जितेको छ ।

प्राविधिक क्याम्पसतर्फको २०६२ पछि थापाथली क्याम्पसमा जितेको छ । उपत्यकाका यी मुख्य क्याम्पसहरूमा जित निकाल्नुले संगठनको लोकप्रियता बढेको उनको भनाइ छ ।

२०७३ सालमा भएको ९ वटा आंगिकमध्ये जनप्रशासन क्याम्पस र आयुर्वेद क्याम्पस गरी दुई वटामा नेविसंघले जितेको थियो ।अनेरास्ववियुले उपत्यकाभित्र ६ वटा क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ।

अनेरास्ववियुबाट महाराजगञ्ज नर्सिङ कलेज, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज, ललितकला क्याम्पस, जनप्रशासन, महेन्द्ररत्न ताहाचल, पुल्चोक इन्जिनियरिङमा अनेरास्ववियुले जितेको छ । अनेरास्ववियुले पहिलो पटक जनप्रशासन क्याम्पसमा जितेको जनाएको छ ।

अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकाया नेविसंघले जित्दै आएको क्याम्पस पहिलो पटक जितेको बताए । त्यसैगरी उनले अखिल (क्रान्तिकारी), नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलको कारण लामो समयदेखि जित्दै आएको नेपाल ल क्याम्पस भने गुमाएको बताए । बाँकी सबै क्याम्पसमा कहिले जित्ने कहिले हार्ने गरेकोले अप्रत्यासित जित अथवा हार भन्न नसकिने उनको भनाइ छ ।

उनले भने ‘अझै अखिलको पकड भएको आंगिक क्याम्पसहरूमा निर्वाचन हुन बाँकी रहेकोले अहिले नै हाम्रो नतिजा खुम्चिएको भन्न मिल्दैन ।’ २०७३ सालमा रत्नराज्य क्याम्पस, नर्सिङ क्याम्पस महाराजगञ्ज लगायत ४ वटामा जितेको थियो ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?