
१३ चैत, काठमाडौं। मध्य अमेरिकी मुलुक होन्डुरसले ताइवानसँगको सम्बन्ध तोड्ने घोषणा गरेको केही घण्टामा नै चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।
चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मन्त्री छिन क्याङ र होन्डुरसका विदेशमन्त्री एडुआर्डो एनरिक रेइनाले आइतबार बेइजिङमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।
उसका अनुसार विज्ञप्तिमा हस्ताक्षर भएको मितिदेखि नै लागू हुने गरी राजदूत स्तरमा एकअर्कालाई मान्यता दिने र कूटनीतिक सम्बन्ध स्थापना गर्ने बताइएको छ ।
ताइवानका नेता साइ इङवेनको मध्य अमेरिकामा हुन लागेको भ्रमणको केहि दिनअघि यो घोषणा भएको हो । होन्डुरसले चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेसँगै एक चीन नीतिलाई मान्यता दिने विश्वको १८२औं मुलुक बनेको छ ।
चिनियाँ विदेशमन्त्री क्याङले दुई देशबीच स्थापना भएको कूटनीतिक सम्बन्धले एक-चीन नीतिको पालना गर्नु विश्वव्यापी जिम्मेवारी हो भन्ने प्रमाणित भएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4