
१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले नेपालमा पाँच-पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको टिप्पणी गरेका छन् ।
रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले पुराना पार्टीहरुमा टिकटको किनबेचका कारण कुशासन बढेको तर्क गरे ।
‘हामी पाँच-पाँच वर्षमा कर्मकाण्डी चुनाव नै लोकतन्त्र भनिरहेका छौं’, रास्वपाले तनहुँ १ मा उम्मेदवार बनाएका उनले भने, ‘पुराना पार्टीहरुमा टिकटको किनबेच हुन्छ । हाम्रोमा सभापतिको हस्तक्षेप भएन । हामी प्राइमरी चुनाव जितेर आयौं, पार्टीभित्रको प्राइमरी चुनाव कुशासन तोड्ने प्रमुख अस्त्र हो ।’
चुनावपछि खर्चिलो चुनाव र महंगो टिकटको खर्च उठाउनेतिर ध्यान जाने भएकोले समृद्धि छायाँमा परेको उनको तर्क छ ।
‘खर्चिलो चुनाव र महंगो टिकटको लगानी उठाउनेतिर ध्यान जाँदा समृद्धि छायाँमा पर्छ’ उनले भने, ‘सुशासनका लागि लोकतन्त्रलाई विकृत बनाइरहेको पैसाको भूमिकामा पनि प्रहार गर्नुपर्नेछ ।’
डा. वाग्लेले सुशासनबाट मात्रै आर्थिक फड्को हान्न सकिने तर्क गरे ।
भर्खरै सम्पन्न भएको जनगणनाको नतिजाले पनि नेपालमा जनसांख्यिक लाभ रहेको देखिएको र यही अवसरमा डेलिभरीको राजनीति गर्नुपर्नेमा उनले जोड दिए ।
उनले विश्व राजनीतिमा आएको फेरबदललाई नेपालले आफ्नो हितमा सदुपयोग गर्नुपर्ने बताए । ‘नयाँ नयाँ भूराजनीतिक पुनर्सन्तुलनको कुरा आइरहेको छ’, उनले भने, ‘नेपालजस्तो सानो देशले कसरी जोगिएर शक्तिशाली राष्ट्रबाट फाइदा लिने भन्नेबारे सोच्नुपर्छ ।’
प्रतिक्रिया 4