+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

अघि बढ्यो दरौंदी करिडोर प्रसारण लाइन, गोरखाको केराबारीमा सव–स्टेशन शिलान्यास

रासस रासस
२०७९ चैत २० गते १३:३०

२० चैत, काठमाडौं । दरौंदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मस्याङ्दी (दरौंदी करिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ ।

आइतबार एक समारोहबीच प्रसारण लाइनको शिलान्यास गरिएको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीले जानकारी दिए । कम्पनीले निर्माण गर्न लागेको यो पहिलो आयोजना हो ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार घिमिरेले प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरे ।

आयोजना अन्तर्गत गोरखा जिल्लाको सिरानचोक गाउँपालिका – १ मा १३२ केभी क्षमताको केराबारी सवस्टेशन निर्माण हुनेछ । यस्तै सो सव–स्टेशनदेखि तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपलिका–२ स्थित न्यु – मर्स्याङ्दी (मार्किचोक) सव–स्टेशनसम्म करिब ३२ किमी लामो १३२ केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ ।

कुल एक सय सात वटा टावर रहने यस प्रसारण लाइन आयोजनाको टावर नम्बर १९ बाट निर्माण सुरु गर्न लागिएको हो । आयोजनाका प्रबन्धक देवेश सैंजुले आयोजनाको निर्माणपछि चेपे तथा दरौंदी खोलामा निर्माण गरिने विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित करिब १२० मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने जानकारी गराए ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार छुट्टा छुट्टै प्रसारण लाइन निर्माण गर्नुभन्दा एउटा साझा प्रसारण लाइन निर्माण गरी विद्युत प्रवाह गर्न प्राविधिक, आर्थिक तथा पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त देखिएको बताए ।

उनले सो आयोजनाबाट दरौंदी तथा चेपे खोलामा निर्माण गरिने जलविद्युत आयोजनाहरु लाभान्वित हुने र अन्य आयोजनाका लागि समेत मार्ग प्रशस्त गर्ने विश्वास दिलाए । प्रसारण लाइन नदी कोरिडोरका धेरै आयोजनालाई समेट्ने गरी बनाइएको साझा प्रसारण लाइन विकासको एक मोडेलको रुपमा स्थापित हुने बताए ।

गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले प्रसारण लाइन आयोजनाबाट हुने क्षति न्यूनीकरण गर्न एकीकृत प्रसारण लाइन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । जिल्ला प्रशासन कार्यालयबाट आयोजना निर्माणमा आवश्यक सहयोग/सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गरे ।

उर्जा सचिव घिमिरेले आयोजना प्रभावित स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित सरकारी निकायले आयोजनाप्रतिको अपनत्वको सराहना गरे । देशमा तीव्र गतिमा उत्पादन भइरहेको बिजुलीलाई लोड केन्द्रमा पुर्‍याउनका लागि प्रसारण गुरुयोजना तयार पारिएको र सोही बमोजिम राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले प्राथमिकीकरण गरी आयोजनाको निर्माण द्रुत गतिमा बढाइएको उनको भनाइ छ ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड तथा निर्माण व्यवसायीलाई आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिंदै आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा विश्वास व्यक्त गरेको छ । गोरखा नगरपालिकाका अध्यक्ष कृष्ण राना मगर र सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले आयोजनालाई स्थानीय तहबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?