+
+

तत्काल ठूलो पानी पर्दैन, वायु प्रदूषण केही दिन कायम रहने सम्भावना छ : मौसमविद

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १३:४३

३ वैशाख, काठमाडौं । मौसमविदले नेपालमा तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण केही दिन कायम रहने अनुमान गरेका छन् । अहिले देशभर नै वायु प्रदूषण बढेको छ । काठमाडौं उपत्यकामा त आँखा पोल्ने प्रदूषण छ । आईक्यू एअरले आज काठमाडौंलाई विश्वकै सबैभन्दा बढी पदूषित शहरको सूचीमा राखेको छ ।

मौसमविदका अनुसार वायु प्रदूषण हट्न ठूलो पानी पर्नुपर्छ वा बेस्सरी हावा चल्नुपर्छ । तर त्यसो नहुँदा कचौरा आकारमा रहेको काठमाडौं उपत्यकामा वायु प्रदूषण कायम छ ।

र्षाका गतिविधि कमडढेलोका घटना बढी भएकाले वायु प्रदूषणमा वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद सजिना शाक्यले काठमाडौं उपत्यकामा केही दिन पानी पर्ने सम्भावना नभएको बताइन् । उनका अनुसार आज कोशी प्रदेशको पहाडी जिल्लामा तथा भोलि गण्डकी र कर्णाली प्रदेशका पहाडी जिल्लामा थोरै पानी पर्ने सम्भावना छ । यस्तै तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना   

खासगरी चैत महिनामा आगलागी र डढेलोका घटना बढी हुने भएकाले वायुप्रदूषण पनि बढ्छ । वन विभागका अनुसार अहिले देशभर २८ स्थानमा डढेलो लागेको छ । वैशाख १ गतेसम्म झण्डै एक सय स्थानमा डढेलो लागेको थियो ।

वायु प्रदूषणका कारण काठमाडौं उपत्यकाको आकाश धुम्म छ । कतिपयले आँखा पोलेको अनुभव भएको बताएका छन् । यो प्रदूषण हानिकारक भएकाले बालबालिका तथा श्वासप्रस्वास र मुटुका बिरामीलाई बढी असर गर्छ । त्यसैले वायु प्रदूषण बढेको बेला सकेसम्म घर बाहिर निस्किन नहुने र निस्किनै परे मास्क प्रयोग गर्नुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् । वातावरण विभागका महानिर्देशक शिवलाल तिवारीले चैत २९ गते नै सूचना जारी गरी सकेसम्म घर बाहिर ननिस्कन र निस्किनै परे सावधानी अपनाउन आग्रह गरेका थिए ।

यसअघि २०७७ साल चैत महिनामा वायु प्रदूषण बढेपछि सरकारले चार दिन विद्यालय बन्द गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?