
३ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
घोषणासँगै विराटनगर महानगरपालिका कोशी प्रदेशमा पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका बनेको छ ।
विराटनगर महानगरपालिकामा रहेका १७ हजार ५०२ बालबालिकाहरुलाई खोप लगाइसकिएको छ । खोप लगाउन छुटेका बालबालिकालाई घरघरमै पुगेर खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको पालिकाले जनाएको छ ।
मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिका खोप सुनिश्चितता पालिका घोषणापछि एक कदम अगाडि बढेको बताए । प्रदेशको राजधानी पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको उनले बताए ।
विराटनगरको विकासका लागि प्रदेश सरकारले सधैं सहयोग गर्ने बताउँदै उनले डिजिट प्रविधिको प्रयोग गरेर नयाँ जन्मिने बालबालिकाहरुको अभिलेख राख्नुपर्ने बताए ।
मेयर नागेश कोइरालाले सबैको सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको बताए ।
जन्मिएको १५ महिनाभित्र बालबालिकालाई ७ पटकसम्म १३ प्रकारको खोप लगाइसकेपछि मात्रै खोपको मात्रा पूरा हुन्छ ।
प्रतिक्रिया 4