+
+

मिटरब्याज पीडितमाथि गरिएको दमनबारे संसदलाई जानकारी गराउन माग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १४:३९

५ वैशाख, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि गरिएको दमनबारे संसदलार्ई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आएर मिटरब्याज पीडित र लघुवित्त पीडितहरुमाथि प्रहरीले लाठी प्रहारसहितको दमन गर्नुको कारणबारे जवाफ दिनुपर्ने उनको भनाइ थियो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले सरकारले संविधानमा उल्लेख गरिएको वाक स्वतन्त्रता र शान्तिपूर्ण रुपमा भेला हुन पाउने हकको हनन् हुने गरी उनीहरुमाथि प्रहरी लगाएर लाठी प्रहार गर्न लगाएको भन्दै त्यसो नगर्न पनि सचेत गराए ।

सांसद सुवालले भने, ‘काठमाडौं रत्नपार्कमा भेला भएका मिटरब्याज पीडित र इनरुवामा भेला भएका लघुवित्त ऋण पीडित जनतामाथि लाठी प्रहार र दमन गरेको संविधानमा उल्लेख वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने हकको हनन् हो ।’

उनले मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिए ।  उनले भने, ‘जनताको शान्तिपूर्ण भेलामा पनि भएको लाठी प्रहारबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई संसदमा स्पष्ट गर्न लगाउनु आवश्यक छ । मिटरब्याज पीडित र लघुवित्त ऋण पीडित जनताको माग पूरा गर्न जरुरी छ ।’

सांसद सुवालले पीडित जनताको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको पनि दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?