
११ वैशाख, जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिकाले चौतर्फी विरोधपछि पालिकाभित्रको नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रक्रिया रद्द गरेको छ ।
वैशाख ७ गते बसेको गाउँ कार्यपालिका बैठकले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्माले जानकारी दिए ।
गत फागुन १५ गते गाउँपालिकाले विद्युतीय बोलपत्रमार्फत नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन् संकलन तथा बिक्री वितरण गर्न सुखजोर खोला, औहरी खोला र बडहरी खोला सम्बन्धी बोलपत्रको सूचना प्रकाशन गरेको थियो।
पालिका अध्यक्ष रामअशिष महतोले चुनावको बेला विगतमा हुँदै आएको नदी उत्खनन बन्द गराउने वाचा गरेर जनतासंग मत मागेका थिए । तर निर्वाचित भए पश्चात खोला ठेक्काको बोलपत्र आह्वान गरेपछि अनलाइनखबरले ‘चुनावी बाचाविपरीत ढुंगागिट्टी उत्खननको ठेक्का’ समाचार सार्वजनिक गरेको थियो । त्यस पश्चात चौतर्फी दबाब बढेपछि पालिकाले ठेक्का प्रक्रिया रद्द नै गरेको हो।
‘आम जनसमुदायबाट दबाब तथा डेलिगेशन आएपछि कार्यपालिकाको बैठकले नदीजन्य पदार्थको उत्खनन ठेक्का रद्द गर्ने निर्णय भएको छ’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भने । गाउँपालिका कार्यालयले ८ गते सूचना प्रकाशित गरी ठेक्का रद्द भएको जानकारी गराएको छ ।
जथाभावी खोला उत्खननले खेतीयोग्य जग्गा मासिने तथा गाउँ बाढीको जोखिममा पर्ने सम्भावना रहेको भन्दै त्यस्तो कार्य नगर्न स्थानीयले सम्बन्धित पक्षसँग माग गर्दै आएका छन् । यसअघि पहिलो कार्यकालमा तत्कालिन गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले पनि खोलामा अवैध उत्खनन गराएपछि स्थानीय वासिन्दा चिढिएका थिए।
प्रतिक्रिया 4