
२६ वैशाख, काठमाडौं। पार्टी एकताका विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको छ।
मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा नेपाल र गौतम लगायतका नेताहरुबीच पार्टी एकताबारे छलफल भएको हो । उक्त छलफलमा सहभागी एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठका अनुसार गौतम एकीकृत समाजवादीसँग एकतामा आउन सकारात्मक भएका छन् ।
‘छलफल एकदमै सकारात्मक छ,’ उनले अनलाइखबरसँग भने, ‘एकता गरेर जानुपर्छ भन्नेमा उहाँ पुरै सहमत हुनुहुन्छ । र, अब यसलाई चाँडै टुंग्याउने गरी कुराकानी भएको छ।’ नेपाल र गौतमबीच यसअघि पनि पार्टी एकताबारे पटक-पटक छलफल भएको थियो ।
गौतमले एकताका लागि जनताको बहुदलीय जनवाद (जबज)लाई एकीकृत समाजवादीले स्वीकार गरेर जानुपर्ने शर्त राखेका थिए । एकीकृत समाजवादीले जबजलाई मार्गदर्शक सिद्धान्त मान्न अस्वीकार गरेको छ ।
श्रेष्ठले पार्टी एकताका लागि त्यसबारे पछि छलफल गर्ने गरी जान गौतम लचक भएको जानकारी दिए। ‘एकताका लागि उहाँका कुरा बाधक नहुने र त्यसमा समय क्रममा छलफल गर्दै जाने भन्ने भएको छ,’ उनले भने।
२०७७ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद भएपछि गौतम पनि अलग भएका थिए । त्यसयता उनले नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका छन् ।
प्रतिक्रिया 4