२७ वैशाख, काठमाडौं । मिडफिल्डर ज्याक ग्रेलिसले च्याम्पियन्स लिगको सेमिफाइनल दोस्रो लेगमा अर्को बुधबार रियल मड्रिडको आतिथ्य गर्दा म्यानचेस्टर सिटीले अजेय महसुस गर्ने बताएका छन् । यी दुईबीच मंगलबार राति सम्पन्न पहिलो लेग १–१ को बराबरी भएको थियो ।
कीर्तिमानी १४ पल्टको विजेता घरेलु टोली रियलका लागि भिनिसियस जुनियरले दिलाएको अग्रतालाई केभिन डी ब्रुयनाको गोलमार्फत सिटीले तोडेको थियो ।
अघिल्लो संस्करणको यही चरणमा रियलले सिटीलाई नाटकीय रुपमा अतिरिक्त समयमा पराजित गरेको थियो ।
‘हामीले गत वर्षको नतिजाबाट धेरै सिकेका छौं,’ ग्रेलिसले बीबीसीसँग भनेका छन्, ‘यो वर्ष हामी नयाँ टिम छौं । त्यो एक वर्ष अगाडिको कुरा थियो । अहिले हामीसँग नयाँ अनुभ र विश्वस्तरका युवा खेलाडी छन् । मलाई मैदानमा यति आत्मविश्वास योभन्दा अगाडि कहिल्यै भएको थिएन ।’
गत सिजन रियलविरुद्ध निर्णायक खेलको ९० मिनेटसम्म सिटी दुई गोलले अगाडि थियो । तर, खेलको अन्त्यसम्म उनीहरु पराजित रहे । रोड्रिगोले इन्जुरी समयमा दुई गोल गरे भने अतिरिक्त समयमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गरेपछि रियल समग्रमा ६–५ गोलले विजयी रह्यो ।
यद्यपि यो सिजन निर्णायक खेल सिटीको घरेलु मैदान इत्तेहाद रंगशालामा हुँदैछ । घरेलु मैदानमा सिटी १४ खेलदेखि अपराजित छ । यी खेलमा ४९ गोल गर्दा ७ गोलमात्र खाएको छ । पेप ग्वार्डिओलाको टिम सिजनमा ट्रेवल उपाधिका लागि आफूलाई बलियो महशुस गरिरहेका छन् ।

‘इत्तेहाद रंगशालामा हामी अजेय महशुस गछौं,’ ग्रेलिसले थपे, ‘हामी यहाँ जितका लागि आएका थियौं । तर, यहाँ हामी सुरुमा पछि रह्यौं, गोल फर्काउन सक्यौं । मेरो विचारमा यो नतिजा उचित थियो । उनीहरुले हाम्रो तुलनामा धेरै अवसर पाएका थिए ।’
‘हामी फाइनल जित्न योग्य छौं’
विपक्षी टिम रियल मड्रिडका गोलरक्षक थियावट कोर्टवाले साविक विजेतालाई नजरअन्दाज नगर्न चेतावनीसमेत लिए । रियलले यो सिजन लिभरपुल र चेल्सीलाई पराजित गरिसकेको छ ।
‘अर्को साताको खेल फाइनलजस्तै हुनेछ र हामी फाइनल जित्न योग्य छौं । सिटी हाम्रो लागि कठिन प्रतिस्पर्धी हुनेछ तर, यसका लागि मानसिक रुपमा तयार हुनेछौं,’ उनले भनेका छन् ।

युरोपेली प्रतियोगिताको नकआउट चरणमा यसअघि सिटीले पहिलो लेग १–१ को बराबरी खेलेको खेलमा दोस्रो लेग आफ्नो पक्षमा पारेको थियो ।
रियलले पछिल्लो ९ च्याम्पियन्स लिग नकआउट चरणको खेलमा पहिलो लेग बराबरी भएपछि दोस्रो लेगमा जित हासिल गरेको दुईपल्ट मात्र हो ।
‘रियल मड्रिडलाई गुमाउनु केहि छैन’
बीबीसीसँग कुराकानीमा मार्सेली र इंग्ल्याण्डका पूर्व विंगर क्रिस वेड्डल सम्भावित विजेताका टोली निक्र्यौल गर्न संघर्ष गरिरहेका थिए ।
‘यो सिटीका लागि सकारात्मक नतिजा हो । तर, के यो एक शानदार नतिजा हो ? केहि गुम्ने जोखिमविना इत्तेहाद पुग्न लागेको रियल मड्रिडले त्यसको फाइदा उठाउला ?,’ वेड्डल भन्छन्, ‘सिटीले यो खेलको ठूलो हिस्सा नियन्त्रणमा राखेको थियो । मेरो विचारमा उनीहरु खेलको अन्तिम सत्रमा अझै सकारात्मक हुनसक्थे र योभन्दा राम्रो नतिजा ल्याउन सक्थे ।’
सेल्टिकका पूर्व प्रशिक्षक निल लेननले भने, ‘मेरो विचारमा पेप ग्वार्डिओला परिणाम र प्रदर्शनबाट खुसी हुनेछन् । जो कोहीले यो खेल सिटीले २–० वा ३–० ले जित्ने अनुमान गरेका थिए । तर, वास्तविकता के थियो भने शीर्ष टिमहरु एकअर्काको विरुद्धमा खेलिरहेका थिए ।’
प्रतिक्रिया 4