सामान्यतया स्तन क्यान्सर महिलामा हुन्छ, तर यसको मतलब यो होइन कि पुरुषमा स्तन क्यान्सर हुन सक्दैन । महिलामा जस्तै पुरुषमा पनि स्तन क्यान्सरको जोखिम हुन्छ । यद्यपि पुरुषमा स्तन क्यान्सरको जोखिम महिलाको तुलनामा कम हुन्छ ।
एक हजार जना स्तन क्यान्सरको बिरामीमध्ये चारदेखि पाँच जना, एक प्रतिशतभन्दा कम पुरुषमा देखिन्छ । पुरुषमा स्तन क्यान्सरको समस्या देखिनुका मुख्य कारण यही हो भनेर पत्ता लागेको छैन तर जोखिमका कारण भने धेरै छन् ।
स्तन क्यान्सर देखापर्ने कारण
वंशाणुगत
परिवारमा हजुरआमा, आमा, दिदीलाई स्तन क्यान्सर भएको थियो । हजुरबुबा, बुबालाई प्रोस्टेट क्यान्सर, आमाशयको क्यान्सर भएको थियो भने त्यो परिवारका अन्य पुरुषमा स्तन क्यान्सर हुने सम्भावना हुन्छ । यसरी रगतको नाता भएको परिवारको सन्तानमा वंशाणुगत कारणले पनि स्तन क्यान्सर हुन सक्ने भयो ।
मोटोपन
खराब जीवनशैली र खानपानको कारण मोटोपन अहिले धेरैको समस्या बनेको छ । मोटोपन धेरै रोगको कारण पनि बनिरहेको छ । यसकै कारण पुरुषमा स्तन क्यान्सरको समेत सम्भावना रहन्छ । मोटोपनले शरीरमा फ्याट सेल्सको संख्या बढ्छ र पछि गएर त्यो ट्युमरको कारण बन्न सक्छ । यसबाहेक फ्याट सेल्सले शरीरमा एस्ट्रोजनको मात्रा बढाउँछ, जुन पुरुषमा हुने स्तन क्यान्सरको प्रमुख कारण हो ।
धूम्रपान–मद्यपान
धेरै मात्रामा धूम्रपान र मदिरा सेवन गर्ने बानी भएका पुरुषलाई स्तन क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ । स्तन क्यान्सरबाट बच्न धूम्रपान र मद्यपानको प्रयोगलाई कम गर्नुपर्छ ।
अन्य कारण
रातिको समयमा कलकारखानामा काम गर्ने र विकिरण हुने क्षेत्रमा काम गर्ने पुरुषमा पनि स्तन क्यान्सरको जोखिम हुन्छ । साथै हर्मोनल थेरापी लिने पुरुषहरूमा पनि यसको जोखिम हुन्छ ।
लक्षण
खराब जीवनशैली, खानपानमा असन्तुलन र आनुवंशिक कारणले पुरुषमा स्तन क्यान्सरको जोखिम बढिरहेको छ । यसको लक्षणलाई समयमै पहिचान गरेर उपचार गरियो भने पूर्ण रूपमा निको हुन सक्छ ।
स्तनको तलमाथि दायाँबायाँ सानो गिर्खा भेटिने, छातीमा असहज महसुस हुने, स्तनको आकारमा परिवर्तन आउने, स्तनमा खाल्डो पर्ने, कुनै सानो घाउ खटिरा आयो भने निको नहुने, स्तन वरपरको मांसपेशी दुख्ने, निप्पलबाट सेतो पानी बग्ने वा रगत बग्ने, तौल घट्ने आदि स्तन क्यान्सरका लक्षण हुन् ।
बच्ने उपाय
-धूम्रपान तथा मद्यपान नगर्ने ।
-प्रशोधित खानेकुरा, जंकफुड नखाने ।
-शारीरिक रूपमा सक्रिय रहने । नियमित व्यायाम, योग, गर्ने ।
-तनाव कम लिने, पर्याप्त मात्रामा आराम गर्ने ।
-चिल्लो तथा बोसोयुक्त खानेकुरा कम खाने ।
-स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरेर उपचार गर्नुपर्छ भन्ने सन्देश सबैमा पुर्याउन सके पनि यसबाट हुने जोखिमबाट बच्न सकिन्छ ।
(क्यान्सररोग विशेषज्ञ डा. शाहीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)
                            
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                                        
                            
                            
                                        
                            
                            
                            
                        
                        
                        
                        
                            
                            
                            
                                        
                            
                                        
                            
                                        
                            
प्रतिक्रिया 4