 
																			३ जेठ, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्न माग गरेका छन् । पार्टी सदस्यसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बालुवाटारमा १८ बुँदे ज्ञापनपत्र बुझाउँदै संविधानसभा सदस्य शर्माले धर्मनिरपेक्ष वा हिन्दु राष्ट्रबारे जनमत संग्रहको माग गरेका हुन् ।
‘राष्ट्रिय विवाद र बहसको रूपमा देखापरेको एक प्रमुख मुद्दा धर्मनिरपेक्ष वा हिन्दु राष्ट्रबारे जनमत संग्रहमार्फत निर्णय गरी देशलाई दीर्घकाल शान्तिको दिशामा लगियोस्’ शर्मा र पूर्वसांसद इन्दु शर्माले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रचण्डले अरु विषयमा सर्मथन जनाए पनि जनमत संग्रहको मागमा भने असहमति जनाएको शर्माले बताए । ‘हिजो मैले अध्यक्षलाई यो दिँदा अरु सबै कुरामा सकारात्मक नै देखिनुभयो’, शर्माले अनलाइनखबरसँग भने, ‘हिन्दु राष्ट्रको कुरामा अहिले बेला भएको छैन भन्ने उहाँको भनाइ थियो ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राष्ट्रकै बिषय उठाएर ठूलो बनेको भन्दै उनले जनमतसंग्रह गरेर यो विषय टुंगो लगाउनुपर्ने धारणा राखे । ‘परिवर्तनकारी पार्टीहरु बलियो भएकै बेलामा छिनोफानो गरिदिएको राम्रो’, शर्माले भने, ‘यो विषयको आवरणमा त पार्टी बन्दैछ । राजनीति बन्दै छ । जनमत बन्दैछ । अहिले तपाईंहरुले संसद भवनमा हेरिराख्नुभएको छ, राप्रपाको ‘भ्वाइस’ कति बलियो गरी आइरहेको छ । ऊ एक प्रकारले लोकप्रिय हुँदै गइरहेको छ ।’
शर्मासँग अनलाइनखबरका रामकुमार डिसीले गरेको कुराकानीः
तपाईंले हिन्दु राष्ट्रबारे जनमत संग्रहको माग किन उठाउनुभयो ?
मैले प्रधानमन्त्रीलाई के भनेँ भने, जनधार नभएको राप्रपाले चुनौती दिइरहेको छ, अनि हामी निरन्तर ‘डाउनफल’ हुँदै गएका छौं । बेलैमा यो कुरा (धर्म निरपेक्ष) लाई हल गर्नुपर्छ । प्रजातन्त्रमा जनताको मतले नै निर्णय लिने हो ।
हाम्रो संविधानमा पनि सार्वभौमिकता, राष्ट्रिय अखण्डता बाहेकका कुरा त संसदले संशोधन गर्ने या जनमतसंग्रहबाट गर्ने भनेकै छ । त्यसकारण यसका आवरणमा हुने तमाम कुरा रोक्नको लागि पनि हामीले नै च्यालेन्ज गर्नुपर्छ । किनकी, कुरा त उठिरहेको छ । यही विषयले पार्टी बनिसक्यो । हामी एउटा शक्तिमा रहेकै बेला त्यसको छिनोफानो गर्दा राम्रो हुन्छ भन्ने कुरा मैले राखेँ । यसमा उहाँको रिर्जभेसन थियो ।
तर, म यसका लागि साझा मोर्चा बनाउछु केन्द्रदेखि स्थानीयतहसम्म । अभियान चलाउँछु । अब म मेरो जीवनको मिसन यसलाई बनाउँछु ।
तपाईंको मागबारे प्रधानमन्त्रीले के भन्नुभयो ?
उहाँले तीनवटा कुरा भन्नुभयो । पहिलो, ज्ञापनपत्रमा भएका कतिपय कुरा म बजेटमै ल्याउँछु । दोस्रो, उहाँले मेरो लेखाइ र एजेन्डा एकदमै राम्रो छ भन्नुभयो । तेस्रो, हिन्दु राष्ट्र र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको बिषय अहिले उचित हुन्न भन्नुभयो ।
तपाईं यो कुुरा पार्टीमा पनि प्रवेश गराउनुहुन्छ ?
मैले ज्ञापन पत्र नै दिएपछि पार्टीमा पनि प्रवेश नै भइसक्यो । मैले त लिखितरुपमा पार्टी अध्यक्षलाई, देशको सबै दललाई दिएको छु । मैले त यो मेरो जीवनको लक्ष्य नै बनाउने भएँ ।
अब बस्ने केन्द्रीय समिति बैठकमा पनि यो कुरा उठाउनुहुन्छ ?
अवश्य उठाउँछु । हामीले हिन्दु राष्ट्र वा धर्मनिरपेक्षता भन्ने बिषयमा किन डराउनुप¥यो ? राप्रपाले देश खाएको जस्तो गर्ने । हामी यत्रो ठूलो पार्टी छौं । दुई तिहाई भन्दा बढी शक्ति त कहीँ न कहीँ धर्मनिरपेक्षताको पक्षमा देखिन्छ ।
यो विषयमा किन अरुलाई खेल्ने मौका दिने ?
तपाईं माग चाहिँ जनमत संग्रह मात्रै हो कि हिन्दु राष्ट्रतिरै जानुपर्छ भन्ने हो ?
यो त जनताले फैसला गर्ने बिषय हो । हिन्दु राष्ट्र हाम्रो एजेन्डा होइन । तर, यो विषय हल गर्नुपर्छ अन्यथा ठूलो त्यागबाट आएको उपलब्धीहरु गुम्न सक्छ । पार्टी कमजोर हुँदै गएको छ । त्यसलाई पछि कमजोर बनाउन सक्छन् । यो हाम्रो पार्टीको एजेन्डा भएन तर आम जनता र कतिपय पार्टीको एजेन्डा त हो त । राज्यले समयमै आफू बलियो भएको बेला यो बिषयलाई हल गर्न पाए राम्रो हुन्थ्यो ।
माओवादीमा धर्मनिरपेक्षताका विषयमा जनमत संग्रह गर्नुपर्छ भन्ने मत सुनिदैन । यस्तो विषय उठाउँदा कारवाहीमा पर्नुहोला नि ?
हामी जस्तो मान्छेलाई कारवाही गर्दा यो पार्टीमा को बस्छ त ? हामी जस्ता मान्छे हुनु नै यो पार्टीका लागि ठूलो कुरा हो ।
तपाईंले माओवादी छोड्ने आधार बनाउन त यो विषय उठाइरहनुभएको छैन ?
त्यस्तो होइन । तर, कतिपय बिषय रणनीतिक महत्वका छन् भने परिवर्तनकारी पार्टीहरु बलियो भएकै बेलामा छिनोफानो गरिदिएको राम्रो । यो विषयको आवरणमा त पार्टी बन्दै छ । अहिले तपाईंहरुले संसद भवनमा हेरिराख्नु भएको छ । अहिले राप्रपाको ‘भ्वाइस’ कति बलियो गरी आइरहेको छ । ऊ एक प्रकारले लोकप्रिय हुँदै गइरहेको छ ।
तपाई पनि लोकप्रिय हुने लोभमा यो विषय उठाइरहनुभएको त छैन ?
अब हिन्दुराष्ट्रका विषयमा जनमत संग्रह गर्नुपर्छ भन्ने विषय मेरो अभियान नै हुनेछ । म व्यवस्थित प्रकारले केन्द्रमा सर्वदलीय सर्वपक्षीय टिम बनाउँछु । त्यसपछि स्थानीय तहमा गएर पनि सर्वदलीय, सर्वपक्षीय टिम बनाउँछु । यो जागरण अभियान, हस्ताक्षर अभियान, धर्ना र अन्तिममा सत्याग्रहका रुपमा जान्छ । यो नेपाली लाखौं मान्छेको एजेन्डा बन्दै गइरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4