+
+

राजेशपायलको स्वरमा फिल्म ‘नीरफूल’को लिरिकल गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १६:४४

काठमाडौं । आगामी जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’को मंगलबार लिरिकल भिडियो सार्वजनिक गरिएको छ । युट्युबमा सार्वजनिक गरिएको भिडियोमा रुबी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ ।

२०७२ सालको महाभूकम्प र परिवारका सदस्य हराएको कथावस्तु समेटिएको फिल्मको यो गीतमा राजेशपायल राईको स्वर सुन्न सकिन्छ भने चन्द्रकुमार दोङले संगीत दिएका छन् । सेलो शैलीको गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसँग हाँसीखुसी रमिरहेको देखिन्छ । साथै ‘फ्यामिली मिसिङ’को दुःखलाई पनि भिडियोमा समेटिएको छ ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन फूलमान बलले गरेका हुन् । पटकथा लेखक समेत रहेका निर्देशक बलले यो फिल्मलाई भूकम्पले भत्काएको सम्बन्धलाई जोड्न गरिएको प्रयत्नको रुपमा दाबी गरेका छन् । ‘कन्टेन्ट प्रधान’ फिल्म भएकाले ‘नीरफूल’लाई दर्शकले रुचाउने उनको दाबी छ ।

धादिङको रुबीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एशोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

नेपाल–म्यानमार फ्रेण्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ । सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?