+
+
नक्कली भुटानी शरणार्थी प्रकरण :

अदालतमै भीआईपी संलग्नता खोल्ने बयान

अदालती बयानमा भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पोलेका छन् भने पूर्वगृहसचिव टेकनारायण पाण्डेले ‘केशव दुलालको बयान फेर्न लगाउनुपर्छ’ भनेर लेखिएको नोट आफ्नो भएको स्वीकार गरेका छन् ।

कृष्ण ज्ञवाली गौरव पोखरेल कृष्ण ज्ञवाली, गौरव पोखरेल
२०८० जेठ २० गते २१:३४

२० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा १७ जना आरोपीको बयान सकिएको छ ।

बयानमा सबैले आफ्नो संलग्नताबारे इन्कारी बयान दिएका छन् । तर केही आरोपीले अर्का प्रतिवादीको पोल खोल्ने गरी केही विषय खुलाएका छन्, जसले प्रहरी अनुसन्धानबाट देखिएको निष्कर्षलाई पुष्टि गर्न मद्दत गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा १२ चैतमा सानु भण्डारी, केशव दुलालसहित ३ जनालाई पक्राउ गरेको प्रहरीले एकपछि अर्को भीआईपीलाई पक्राउ गरेको थियो ।

चैत तेस्रो साता तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको प्रहरीले २७ चैतमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नियन्त्रणमा लिएको थियो ।

फरार भएका पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसभासद आङटावा शेर्पा, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल समेत पक्राउ परे ।

दुई महिना लामो अनुसन्धान सकेर प्रहरीले १० जेठमा सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ३० जनाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध लगायतका मुद्दा दायर गरेको थियो ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पक्राउ परेका १७ जनाको बयान सकिएको छ, जसमा सबैले यो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

तर भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र विचौलिया रामशरण केसीको बयानले प्रकरणका पूर्वउपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, लतिलपुरका सानु भण्डारी, मोरङका केशव दुलाल यो प्रकरणको योजनाकार भएको प्रहरी दाबीलाई सहयोग पुग्छ ।

जिल्ला अदालतको बयानमा भुटानी अधिकारवादी नेता रिजालले यो प्रकरणको योजनाकार नै रायमाझी, भण्डारी र दुलाल भएको बताएका छन् । नक्कली भुटानी शरणार्थी बनाउने नीतिगत कार्यमा राईको संलग्नता रहेको उनको दाबी छ ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल ।

अनलाइनखबरलाई प्राप्त भुटानी अधिकारवादी नेता रिजालको बयानअनुसार सानु भण्डारी र केशवप्रसाद दुलाल नेपालीलाई पनि नक्कली शरणार्थी बनाउने योजना लिएर सल्लाह गर्न विर्तामोडस्थित निवासमा पुगेका थिए ।

आफूले लामो समयदेखि शरणार्थी समस्या समाधानमा कुनै अग्रसरता नभएको अवस्थामा कसरी सम्भव हुन्छ भनेर प्रश्न गर्दा सबै मिलाइसकका छौं भनेको रिजालले बताएका छन् ।

‘सरकारले नै यस्तो नीति र कानून बनाएर काम गर्छ भने मैले भन्नु केही छैन’, उनले अदालतको बयानमा भनेका छन्, ‘मेरो भनाइ लामो समयदेखि दुःख पाएर बसेका भुटानी शरणार्थीसँग कुनै पनि रकम लिन मिल्दैन, उनीहरुलाई सहज र सरल रुपमा अमेरिका वा अन्य देश जाने व्यवस्था मिलाउनु हुन्छ भने मेरो समर्थन छ ।’

आफूलाई विश्वस्त गराउन एकपटक केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटाउन भनेको रिजालले खुलाएका छन् । त्यसपछि सानु भण्डारीले काठमाडौं बोलाएको भन्दै भनेका छन्, ‘सानु भण्डारीले फोन गरेर काठमाडौं आउनू भन्दा नमानेपछि टोपबहादुर रायमाझी आफैंले फोन गरेर आउनू भनेका थिए ।’

काठमाडौंमा भण्डारी र दुलालले उनलाई टोपबहादुर रायमाझीको घरमा पुर्‍याएका थिए । रायमाझीसँग भएको कुराकानीमा प्रष्ट नभएपछि आफूले प्रचण्डसँग भेट गराउन आग्रह गरेको भन्दै उनले बयानमा भनेका छन्, ‘म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दुलाल प्रचण्ड निवासमा गयौं ।’

त्यहाँ आफूले भुटानी शरणार्थीको व्यवस्थापन सन्दर्भमा कुराकानी गर्न आएको भनेको स्मरण गर्दै उनले भनेका छन्, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, रायमाझीसँग सबै कुरा गर्नुहोला, सम्बोधन हुनसक्ने भए समाधान गर्नुहुन्छ भन्नुभयो ।’

यो भेटपछि पनि आफूले सानु र केशवमाथि शंका गरेको, तर उनीहरुले भने अनुसार नै आफ्नो रोकिएको सुविधा पाउन थालेको र भुटानी शरणार्थीबारे निर्णयहरु भएकाले उनीहरुले भने जस्तो काम हुने रहेछ भन्ने लागेको रिजालले बताएका छन् ।

अदालतमा दिएको बयानमा भनेका छन्, ‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ ।’

बयानका क्रममा सोधिएको अर्को प्रश्नको उत्तरमा उनले प्रेमराज पन्थी, रामशरण केसीको पनि मूख्य भूमिका रहेको बताएका छन् । तर उनले रकम लिएर नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप भने अस्वीकार गरेका छन् ।

केशव दुलाल, सानु भण्डारी, टोपबहादुर रायमाझी जस्ता व्यक्तिहरुले सरकारी स्तरबाट काम हुने भनेर सहयोगको आग्रह गरेको र उनीहरुले भने जस्तो क्याबिनेट र मन्त्रालयबाट निर्णय भएपछि सबै शरणार्थीको भलो हुन्छ होला भन्ने विश्वासमा आफू जोडिएको उनको दाबी छ ।

रिजालको दाबी छ, ‘यसमा मेरो कुनै संलग्नता छैन । कसैबाट कुनै रकम लिएको पनि छैन ।’

रिजालले जस्तै पोल खोलेका छन् रामशरण केसीले । आफूलाई पीडित भएको दाबी गरेका उनले अदालतको बयानमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने कामको नेतृत्व सानु भण्डारी, केशव दुलाल र टेकनाथ रिजालले गरेको बताएका छन् । उनका अनुसार सुरुमा ३४ जनाबाट ९०/९२ लाख रकम उठाएर केशव दुलाललाई दिइएको थियो भने २०७६ मंसिरसम्म छुट दर्ताको फारम समेत भरिएको थियो ।

त्यसपछि सानु भण्डारीको खातामा १ करोड ३४ लाख रुपैयाँ हालेको बताएका उनले केशवलाई १ करोड १० लाख बुझाएको बताएका छन् । लकडाउनको समयमा सानुले १ करोड ५० लाख रुपैयाँ फिर्ता दिएको तर, केही समयपछि केशव दुलालले आफूलाई तत्कालीन गृहमन्त्रीका रामबहादुर बादलका छोरा प्रतिक थापालाई भेटाएको र उनले ‘काम निस्कियो, पैसा चाहियो’ भनेको भन्दै उनले अदालतलाई दिएको बयानमा भनेका छन्, ‘मैले मेरो घर सबिन महर्जन लगानीकर्ता र मेरो भान्जा अभिमन्यु भण्डारीको नाममा दृष्टिबन्धक राखेर १ करोड ५० लाख रुपैयाँ मैले २०७७ असोज महिनामा नगदै बुझाएको हुँ ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई पनि मुछेका छन् । आफूहरुको काम नभएपछि २०७८ मा राईलाई भेटेर ‘हजुर गृह सचिव भएदेखिको पालामा निस्किएको काम अहिलेसम्म भएन, हामीले दिएको पैसा काम नहुने भए फिर्ता दिलाइदिनुपर्‍यो भनेर गुनासो गर्‍यौं । उहाँले म कुरा गरिदिन्छु भनेर सान्त्वना दिएर हामीलाई पठाउनु भयो ।’

त्यसको ९ महिनासम्म पनि केही कारबाही नभएपछि आफूहरुले इन्द्रजित राईले ५ करोड ५० लाख रुपैयाँ फिर्ता नगरेको भनेर निवेदन दिएको उनले बताएका छन् ।

इन्द्रजितका छोरा निरजका साथै बेचन झा लगायतको नाम लिएका उनले अदालती बयानका क्रममा ठगीमा आफ्नो संलग्नता भने पूर्ण रुपमा अस्वीकार गरेका छन् ।

टोपबहादुर, इन्द्रजितहरु केपी शर्मा ओली नेतृत्वको नेकपाकालीन सरकार भएको बेलाका अधिकारीहरु हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा शेरबहादुर देउवा नेतृत्वको सरकार भएका बेला गृह मन्त्रालयमा रहेका अधिकारीहरु पनि मुछिएका छन् ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डे प्रहरी हिरासतमै छन् । उनीहरुले सानु भण्डरी र केशव दुलाल समूहको ठगीलाई मद्दत गर्ने बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदनको ठाउँमा फर्जी प्रतिवेदन राख्ने लगायतका काम गरेको प्रहरीको निष्कर्ष छ ।

जिल्ला अदालतमा भएको बयानका क्रममा खाँण, पाण्डे लगायत सबैले इन्कारी बयान दिएका छन् । यद्यपि तत्कालिन गृहसचिव पाण्डेले खाँणलाई जोगाउन केशव दुलालको बयान सच्याउन चलखेल गरेको पुष्टि हुने बयान दिएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनी गृहमन्त्री हुँदा गृहसचिव रहेका टेकनारायण पाण्डे ।

प्रहरीका अनुसार २७ पुसमा खाँण पक्राउ गर्दा केही कागजपत्र समेत बरामद भएको थियो । त्यसमध्ये एउटामा प्रहरी हिरासतमा रहेका तत्कालीन गृहसचिव पाण्डेले ‘दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्‍यो, नभए मन्त्रीज्यू समेतको मुद्दा जानसक्छ’ भनेर लेखिएको थियो ।

तत्कालीन गृहसचिव पाण्डेले यो सन्देश आफूले लेखेको अदालतकै बयानमा स्वीकार गरेका छन् । ‘पक्राउ पूर्जी जारी हुँदैछ भन्ने जानकारी पछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको थिएँ, पठाउने प्रयोजनले लेखेको होइन’, उनले बयानमा भनेका छन्, ‘उक्त लेखाइबाट अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभाव पार्ने मेरो कुनै मनसाय होइन ।’

पूर्वमन्त्री खाँणले भने आफूले निवासमा उक्त सन्देश च्यातेको अस्वीकार मात्र गरेका छैनन्, नोटबारे थाहै नभएको बताएका छन् । उनका निजी सचिव नरेन्द्र केसीले भने यो सन्देश आफ्नो खल्तीबाट बरामद भएको जिकिर गरेका छन् । वडाका प्रतिनिधि साक्षी बसेको बरामदी मुचुल्कामा भने च्यातिएको पाना खाँण पक्राउ पर्ने बखत उनको घरबाट बरामद भएको व्यहोरा उल्लेख छ ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?