+
+

अदालतमा बालकृष्ण खाँणको बयान : मलाई केही पनि थाहा छैन

पूर्वगृहमन्त्री बालकृष्ण खाँण हिरासत र अदालतको बयानमा ‘मौन’ छन् । आरोपबारे केही नबोल्ने बरु त्यसको साटो कानून व्यवसायीमार्फत चर्को प्रतिवाद गर्ने उनको रणनीति देखिन्छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८० जेठ २० गते २०:००

२० जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू पक्राउ पर्ने कल्पनै नगरेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण २७ वैशाखमा आफ्नै निवासबाट पक्राउ परे । उनले तत्काल आफ्नो साथमा रहेको कागजको चिट च्यातेर फालेका थिए ।

त्यही चिट जोडेर प्रहरीले उनलाई नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको प्रमाणको रुपमा पेश गरेको छ । चिट च्यातेको र त्यसमा लेखिएको व्यहोराबारे जिल्ला अदालत काठमाडौंमा सोधिएको प्रश्नमा उनले बयानमा भनेका छन्, ‘मैले कसैलाई केही भनेको छैन । च्यातिएको कागजको टुक्रा सम्बन्धमा मलाई कुनै जानकारी भएन ।’

जिल्ला अदालतमा शुक्रबार गरेको ७ पृष्ठ लामो बयानमा पूर्वगृहमन्त्री खाँणले पटकपटक ‘यो विषय मलाई जानकारी भएन, मलाई थाहा भएन, यसबारेमा मेरो जानकारी छैन’ भनेर सबैजसो सवालको इन्कार गरेका छन् ।

खाँणनिकट एक कानून व्यवसायीका अनुसार, पक्राउ परेपछि रक्षात्मक देखिएका र तौलिएर बोलेका उनले घटना अनुसन्धानका क्रममा प्रहरीसँगको बयानमा जसरी प्रस्तुत भएका थिए, अदालतमा पनि त्यही बाटो अपनाएका छन् ।

छुट भएका भुटानी शरणार्थीलाई तेस्रो देश पठाउन गृह मन्त्रालयबाट अघि बढाएको प्रक्रियाबारे उनले आफूलाई थाहा नभएको बरु सचिव र सम्बन्धित महाशाखा प्रमुखहरुलाई जानकारी हुने भनी प्रहरीमा बयान दिएका थिए । उनले प्रहरीसँगको बयानमा सबै प्रस्ताव सम्बन्धित महाशाखा, सचिव हुँदै आफूकहाँ पेश भएको र सदर भएर मन्त्रिपरिषदमा पुगेको बयान दिएका थिए । अदालतमा समेत उनले त्यही व्यहोरा दोहोर्‍याए ।

खाँणलाई नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका मुख्य आरोपी केशवप्रसाद दुलाल र सानु भण्डारीले रकम लिएको भनेर पोलेका थिए । खाँणका निजी सचिव नरेन्द्र केसीले समेत ५ लाख रुपैंयाँ लिएका दुलाल र भण्डारीले बताएका थिए । सचिव टेकनारायण पाण्डे र भुटानी शरणार्थी नेता टेकनाथ रिजालले समेत बयानमा खाँणको नाम जोडेका थिए ।

खाँणले सबै विषयमा आफूलाई केही थाहा नभएको भन्दै बयानमा भनेका छन्, ‘अनुसन्धानको विषयमा किन लेखिएको हो मलाई कुनै जानकारी भएन । प्रतिवादीको व्यहोरा सम्बन्धी मलाई कुनै जानकारी छैन ।’

यही प्रकरणमा आरोपित अरु व्यक्तिको बयान, कागज पढेर सुनाउँदा समेत बारम्बार ‘मलाई कुनै जानकारी भएन’ भनी जवाफ दिएका छन् । गृह मन्त्रालयबाट भएको निर्णय, कागजात आदानप्रदान र प्रतिवेदनका बारेमा समेत खाँणले ‘मलाई थाहा भएन’ भनी जवाफ दिएका छन् । मन्त्रालयको कागजात नै फेरबदल गरेकोबारे उनले बयानमा भनेका छन्, ‘मलाई थाहा हुने कुरा भएन ।’

जिल्ला अदालतमा भएको खाँणको वयानको पहिलो पृष्ठ ।

गृह मन्त्रालयमा बुझाइएको प्रतिवेदन कीर्ते गरेको आरोपमा समेत उनले आफ्नो कुनै भूमिका नभएको भन्दै मन्त्रालयको प्रशासनिक जिम्मेवारी हेर्नेहरुलाई त्यसबारे थाहा हुने भनी तत्कालिन गृहसचिव टेकनारायण पाण्डेतिर संकेत गरेका थिए ।

उनले बयानमा भनेका छन्, ‘मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरु राख्ने र सुरक्षा गर्न सम्बन्धित महाशाखा र शाखाहरुको जिम्मेवारी हो । उक्त प्रतिवेदनहरू सम्बन्धमा मलाई कुनै जानकारी भएन ।’ अरु केही प्रश्नहरुमा पनि उनले मन्त्रालयका कर्मचारीहरुलाई देखाउदै आफूलाई केही थाहा नभएको बताएका छन् ।

खाँणको पक्षबाट बहस गर्न वकालतनामा लेखाएका एक कानून व्यवसायीले अनलाइनखबरलाई उपलब्ध गराएको जिल्ला अदालतको बयानको विवरणमा उनले आफूमाथिका आरोपको तथ्यपरक खण्डन गरेका छैनन्, बरु ‘यसबारे मलाई थाहा छैन’ भनी अनविज्ञता प्रकट गरेका छन् ।

गृह प्रशासनमा लामो समय काम गरेका नायब सुब्बा सुरेन्द्रराज दाहाललाई भुटानी शरणार्थीको नामावलीमा नेपालीको नाम थप गर्न र प्रमाणीकरणका लागि जिल्ला प्रशासन कार्यालय झापामा खटाइएको प्रहरी प्रतिवेदनमा उल्लेख थियो । उनले आलटाल गरेपछि सरुवा गरेर गृहमन्त्री खाँणकै निर्देशनमा ताप्लेजुङ पठाइएको आरोप खाँणमाथि छ ।

यसबारे सोधिएको प्रश्नमा खाँणले आफूले दाहाललाई नचिनेको दाबी गरेका छन् । ‘दाहाललाई मैले चिनेको र कहिल्यै कुनै काम गर्दिनु पनि भनेको छैन’ खाँणले बयानमा भनेका छन् । उनले नायब सुब्बा सरुवाको अधिकार तल्लो तहमा हुने भन्दै आफू संलग्न नभएको जिकिर गरेका छन् ।

आफू छानबिनको दायरामा परेपछि खाँणको मोवाइलका सबै तथ्यांकहरु मेटाएको फेला परेको थियो । प्रहरीले सोधेको यससम्बन्धी प्रश्न अदालतमा पनि सोधिएको थियो । खाँणले बयानमा भनेका छन्, ‘प्रमाण मेटाउने कुनै कार्य गरेको छैन । यस सम्बन्धमा मलाई कुनै जानकारी भएन ।’

प्रहरी हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेले तत्कालिन निजी सचिव नरेन्द्र केसीमार्फत खाँणलाई एउटा कागज (चिट) पठाएका थिए । चिटमा सचिव टेकनारायण पाण्डेले पीडितको रकम फिर्ता गर्नुपर्ने अनि केशव दुलाल र सानु भण्डारीलाई इन्कारी बयान गर्न लगाउनुपर्ने भन्ने व्यहोरा लेखेको प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

आफ्नो निवासमा २७ पुसमा एक्कासी प्रहरी प्रवेश गरेपछि खाँणले उक्त चिट च्यातेर फालेका थिए । त्यसबारे बयानमा उनले भनेका छन्, ‘मैले कसैलाई केही भनेको छैन । च्यातिएको कागज टुका सम्बन्धमा मलाई कुनै जानकारी भएन ।’

बयान टुंगिने बेलामा शुक्रबार अपरान्हतिर अदालतका कर्मचारीहरुले खाँणलाई तपाईंलाई अन्तिममा केही भन्नु छ भनी सोधेका थिए । आरोपितहरुको बयानका क्रममा अन्तिममा यस्तो प्रश्न सोध्ने चलन हुन्छ । त्यसमा मात्रै उनले आफूविरुद्ध झुटो आरोप लगाइएको दाबी गरेका छन् ।

‘मेरो राजनीति सिध्याउन रचिएको षड्यन्त्र हो । कुनै पनि कसुरमा मेरो संलग्नता छैन’, खाँणले भनेका छन्, ‘म धार्मिक प्रवृत्तिको व्यक्ति हुँ । जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिन ।’

पक्राउ परेदेखि अदालतमा बयान गर्दासम्म अरु आरोपित र बालकृष्ण खाँणको व्यवहार फरक थियो । अदालतमा पेश गर्नासाथ खाँणका कानुन व्यवसायीहरुले उनको बचाउ गरेका थिए ।

अनुसन्धानका लागि खाँणलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले अदालत पेश गर्दा वरिष्ठ अधिवक्तासहितका कानुन व्यवसायीले उनलाई हिरासतमै राख्न नहुने भनी बहस गरेका थिए ।
प्रहरीसँगको बयानका क्रममा उनले आफू भुटानी शरणार्थीको समस्या समाधानका लागि अनेक प्रयास गरेको दाबी गरेका थिए ।

‘उनीहरुको जीवन जीउन सहज बनाउन मन्त्रीपरिषदले भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानको उपायहरुको सम्बन्धमा प्रस्ताव पास गरिएको हो’ उनले बयानमा भनेका थिए, ‘यो प्रस्ताव भुटानी शरणार्थीहरुको व्यवस्थापनका लागि असल मनसायले गरिएको हो ।’

तर अदालतमा यो विषयमा समेत उनी मौन बसेका छन् । उनले सचिव टेकनारायण पाण्डे र आफ्नो निजी सचिव नरेन्द्र केसी बाहेक कसैलाई पनि नचिन्ने र कुनै कारोबार नभएको दावी गरेका छन् ।

अदालतमा खाँणले आधाभन्दा बढी प्रश्न र सवालमा ‘थाहा छैन, मेरो जानकारी भएन, मलाई थाहा भएन…’ लगायतका संक्षिप्त उत्तर दिएका छन् । सोधेको प्रश्नको औपचारिक रुपमा जवाफ दिनेबाहेक खाँणले आफूमाथिको आरोपको सक्रिय रुपमा प्रतिवाद गरेका छैनन् ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?