
काठमाडौं । फूलमान बल निर्देशित सोसल ड्रामा फिल्म ‘नीरफूल’लाई बुधबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ । बिग मुभिज मल्टिप्लेक्समा आयोजित समारोह तामाङ झाँकी र भेषभूषाले झकिझकाउ थियो । अभिनेता दयाहाङ राई, बुद्धि तामाङलगायतको फिल्म टोली तामाङ पहिरनमा प्रस्तुत थियो ।
तामाङ कलाकारले डम्फु भजाएर कलाकारलाई हलमा स्वागत गरेका थिए । फिल्मकी शीर्ष अभिनेत्री शान्ति वाइबादेखि अभिनेत्री लुनिभा तुलाधर पनि प्रिमियर समारोहमा पुगे । २०७२ सालमा गएको विनाशकारी भूकम्पले धादिङको उत्तरी क्षेत्र रुबीभ्यालीको एक परिवारमा ल्याएको पीडा र संघर्षको कथा यसले पेश गर्छ ।
भूकम्प गएपछिको परिस्थितिलाई पारिवारिक कथावस्तुमा मर्मस्पर्शी तुल्याइएको छ । फिल्ममा जिग्मे छ्योंकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतको समेत अभिनय छ । निर्देशक समेत रहेका बलको लेखनमा तयार भएको फिल्मलाई रुबीभ्यालीसहित रसुवाको स्याफ्रुबेंसी र काठमाडौंमा समेत छायांकन गरिएको छ ।
फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ । नेपाल-म्यानमार फ्रेन्डसपि काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले फिल्म निर्माण गरेको हो ।
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4