इन्टर मिलानका गोलकिपर ओनाना भित्र्याउने योजनामा म्यानचेस्टर युनाइटेड
२२ असार, काठमाडौं । म्यानचेस्टर युनाइटेडले इन्टर मिलानका गोलरक्षक आन्द्रे अोनानालाई क्लबमा अनुबन्ध गर्ने इच्छा देखाएको छ ।
युनाइटेडका बोस एनरिक टेन हागले ओल्ड ट्राफोर्डमा चलिरहेको गोलकिपरको समस्या समधानका लागि ओनानालाई क्लबमा ल्याउन इच्छा देखाएका हुन् ।
हाल ओल्ड ट्राफोर्डमा गोलकिपर डेबिट डी गयाको भविष्य अनिश्चित छ । युनाइटेडमा उनको सम्झौता अघिल्लो महिना नै सकिइसकेको हो ।
तर उनको सम्झौता नवीकरणको कुनै कारबाही अघि नबढ्दा उनको भविष्य क्लबमा अनिश्चित बनेको हो ।
२७ वर्षीय ओनानाले पछिल्लो सिजन सिरी एका २४ खेलमा ८ क्लिनसिट राखेका थिए ।
क्यामरुनी खेलाडी ओनानाले पछिल्लो सिजन च्याम्पियन्स लिगमा १३ खेल खेल्दै ८ क्लिन सिट राखेका थिए । उनले च्याम्पियन्स लिगमा सर्वाधिक बढी क्लिन सिटको रेकर्ड पनि राखेका थिए ।
टेन हागले अजाक्समा पनि ओनानासँगै काम गरेका थिए । डच प्रशिक्षकका अनुसार उनले खोजेको जस्तो गोलकिपिङ क्षमता ओनानामा छ । जसले प्रिमियर लिगलाई सहजै स्वीकार गर्न सक्छन् ।
टेन हागले यसअघि वर्तमान गोल रक्षक डी गयाको क्षमता चाहिने जति पनि नरहेको बताएका थिए ।
मिडफिल्डर मेसन माउन्टलाई ५५ मिलियन पाउण्डमा अनुबन्ध गरिसकेको युनाइडेटसँग खेलाडी अनुबन्धका लागि बजेट सिमित मात्र छ । आर्थिक पारदर्शिता देखाउनका लागि पनि उनीहरुलाई चुनौती छ ।
क्लबको मालिकको पनि हालसम्म टुङ्गो नलाग्दा अर्को चिन्ता पनि छ । तर टेन हाग भने एक गोलकिपर र सेन्टर फर्वाडको मागमा छन् ।
प्रतिक्रिया 4