
१८ साउन, जनकपुरधाम । धनुषाको ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् ।
ढल्केवर विकास संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी काशीराज दहाललाई ज्ञापन पत्र बुझाउँदै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो ।
संघर्ष समितिका संयोजक फुलगेन महतो (मगही) नेतृत्वको टोलीले ढल्केवरसहित धनुषाका उत्तरी भेगका नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापना गरी सहज गरिदिन माग गरेको हो ।
जनताको घरदैलोमै सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय सेवा पुर्याई संघीयताको अनुभूति गराउन ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने उनीहरुको भनाइ छ ।
मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायत यस भेगका नागरिकलाई नागरिकता, तथा राहदानी लिन सहज हुने र शान्ति सुरक्षाको प्रत्याभूति हुने ज्ञापनपत्रमा उल्लेख छ ।
प्रशासनिक कामका लागि जनकपुर धाउनैपर्ने बाध्यता रहेको समितिका संयोजक फुलगेन महतो(मगही)ले बताए । ज्ञापनपत्र बुझाउन संघर्ष समितिका पदाधिकारीहरुसँगै मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष सन्तोषकुमार महतो, स्थानीय अभियानी, व्यापारी, सञ्चारकर्मी सम्मिलित टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले इलाका प्रशासन कार्यालय स्थापनाको लागि आफू पनि प्रयासरत रहेको जवाफ दिए ।
प्रतिक्रिया 4