ज्ञानेन्द्र मल्ल : नेपाली क्रिकेटमा स्वर्णिम पुस्ताका ब्याटर
‘अहिले टिमले राम्रो गरिरहेको छ र क्रिकेट पनि सेफ साइडमा छ । त्यसैले सन्यासका लागि यो नै सही समय हो भन्ने लाग्यो ।’
१९ साउन, काठमाडौं । नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी जीवनबाट सन्यास लिएका छन् । शुक्रबार झण्डै १८ वर्ष लामो खेलाडी जीवन अन्त्य गरेको घोषणा गर्दै उनले भनेका छन्, ‘अब घरेलु क्रिकेटमा पनि फर्किन्न होला ।’
यससँगै नेपाली क्रिकेटको एउटा स्वर्णिम पुस्ता राष्ट्रिय टिमबाट लगभग अलग भएको छ । सन् १९९६ मा पहिलो टिम बनाएको नेपालको क्रिकेटमा पारस खड्का र ज्ञानेन्द्र मल्लहरूको पुस्तालाई गोल्डेन जेनेरेसन मान्ने गरिन्छ ।
यो पुस्ताले नेपाललाई पहिलो पटक २०१४ मा टी–२० विश्वकप क्रिकेटमा पुर्याएको थियो । विश्वकप खेलेको टोलीमा पारस खड्का कप्तान थिए भने मल्ल उपकप्तान । उनीहरूकै नेतृत्वमा नेपालले २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो । त्यो गोल्डेन जेनेरेसनका ‘द पावर’ स्पिनर शक्ति गौचनले २०१८ मै सन्यास लिए भने पारस खड्काले सन्यास लिएको दुई वर्ष भइसक्यो ।
औपचारिक रूपमा सन्यास घोषणा नगरे पनि बसन्त रेग्मी, सुवास खकुरेल, सागर पुन र नरेश बुढाऐर लामो समयदेखि टिममा परेका छैनन् । विनोद भण्डारी, शरद भेषावकर, जितेन्द्र मुखियाले पनि राष्ट्रिय टिमबाट नलेखेको धेरै भइसक्यो ।
विश्वकप खेलेको टोलीका एक्ला सदस्य सोमपाल कामी मात्र अहिले राष्ट्रिय टिममा छन् । ‘पहिलो ब्याच हाम्रो भए पनि पारस र ज्ञानेन्द्रहरू नेपाली क्रिकेटको गोल्डेन जेनेरेसन हुन्’ नेपालको पहिलो टिमका सदस्य समेत रहेका प्रशिक्षक जगत टमाटा भन्छन्, ‘आज ज्ञानुले सन्यास लिएको सुन्दा दुःख लाग्यो ।’
मल्ल भने नेपाली क्रिकेट सुरक्षित स्थान (सेफ साइड)मा पुगेकाले सन्यास लिएको बताउँछन् । हुन पनि मल्लले यस्तो समयमा कप्तानीको जिम्मेवारी पाएका थिए, जतिबेला करिब १० वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिए ।
नोभेम्बर २०१९ मा कप्तान भएका उनलाई प्लेयर ग्रेडिङ र कन्ट्रयाक्टमा प्रश्न उठाएको भन्दै २०२१ डिसेम्बरमा कप्तानबाट मात्र हटाएन, ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय क्रिकेट संघले गरेको थियो ।
त्यसविरुद्ध राष्ट्रिय टिमका खेलाडीहरू विरोधमा उत्रिएका थिए । मल्ल र तत्कालीन उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई निलम्बन गर्ने निर्णय फिर्ता लिनुपर्ने उनीहरूको मत थियो । राष्ट्रिय टिम दुई खेमामा बाँडिएला जस्तो भए पनि मल्लले कप्तानमा पुनर्वहाली नभएकै अवस्थामा टिममा फर्किने निर्णय लिए ।
नेपालले एकदिवसीय मान्यता जोगायो, विश्वकप छनोट खेल्यो, अनि अब एसिया कपको तयारीमा छ । अब नेपाली क्रिकेट सुरक्षित स्थानमा आइपुगेको भन्दै मल्लले अघि भने, ‘अहिले टिमले राम्रो गरिरहेको छ र क्रिकेट पनि सेफ साइडमा छ । त्यसैले सन्यासका लागि यो नै सही समय हो भन्ने लाग्यो ।’
ज्ञानेन्द्रको १८ वर्षे करिअर
काठमाडौंको भीमसेनस्थानमा जन्मिएका ज्ञानेन्द्रले २००५ मा यू–१५ मा एसीसी यू–१५ कपबाट क्रिकेट करियर सुरु गरेका थिए । त्यही वर्ष यू–१७ र यू–१९ को टिममा परेका उनले अर्को वर्ष नेपालको सिनियर टिममा मौका पाएका हुन् ।
२००५ मा नेपाली यू–१९ टिमले प्लेट च्याम्पियनसिप जित्दा उनको उत्कृष्ट प्रदर्शन रहेको थियो । जसको कारण उनले २००६ मा इन्टर कन्टिनेन्टल कप क्वालिफायर्सको चारदिने खेलमा नेपालको राष्ट्रिय टिमबाट नामिबिया विरुद्ध खेल्दै डेब्यू गरे । नेपाली क्रिकेटको गोल्डेन जेनेरेसनमा मल्ल भरोसायोग्य ब्याट्सम्यानका रूपमा चिनिन्थे ।
२०१२ को एसीसी ट्रफी एलिटमा साउदी अरेबिया विरुद्ध मात्र १७ बलमा अर्धशतक बनाउने क्रममा एकै ओभरमा ६ चौका हानेका थिए । सिंगो प्रतियोगितामा दुई अर्धशतक सहित २१२ रन बनाए र नेपालले पहिलो पटक उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले ।
टिम दबाबमा परेको बेला इनिङ सम्हाले मल्लले २०१४ को विश्वकप छनोटमा क्यानडा विरुद्ध ८६ रन, २०१२ को डिभिजन ४ मा कतार विरुद्ध ७६ रन, २००८ मा डिभिजन ५ मा अमेरिका विरुद्ध ७५ रन बनाएका थिए । पहिलो शतक भने उनले २०१४ मा डिभिजन थ्रीमा सिंगापुर विरुद्ध बनाएका थिए ।
उनका लागि करिअरमा सबभन्दा खट्किने पक्ष भनेको ठूलो स्कोर बनाउन नसक्नु हो । उनले २०१९ मा टी–२० अन्तर्राष्ट्रियमा भुटान विरुद्ध शतक प्रहार गरेका थिए । त्यसयता एकदिवसीयमा ३७ खेल खेल्दा ७ अर्धशतकमै चित्त बुझाउनुपर्यो ।
‘एकदिवसीयमा शतक बनाउने, ५ विकेट लिने, विकेट किपिङ पनि गरेर स्टम्पिङ विकेट निकाल्ने रहर त थियो नि !’ एकदिवसीयमा शतक किन बनेन भन्ने प्रश्नमा पूर्व कप्तान मल्लले भने, ‘म आफैंलाई पनि सधैं प्रश्न गर्थे मैले किन ठूलो स्कोर बनाउन सकिनँ भन्ने चाहिं ठ्याक्कै उत्तर भेटिनँ ।’
आफूलाई क्रिकेट खेलाडी भनेर चिनिनु नै आत्मसन्तुष्टि मान्ने मल्ल टी–२० विश्वकप अविस्मरणीय क्षण मान्छन् । अनि टेष्ट र एकदिवसीय विश्वकप खेल्न नपाउनुलाई आफ्नो करियरको अधुरा लक्ष्य । ४५ टी–२० आई सहित ६८ टी–२० म्याच खेलेका उनले लिस्ट ए मा ७७ खेल खेल्दै ११ अर्धशतक बनाएका छन् ।
राष्ट्रिय टिमका ‘ज्ञानु दाइ’
युवा पुस्ताको आगमन बढेसँगै नेपालको राष्ट्रिय टिमका थोरै अनुभवी खेलाडीमध्ये एक थिए ज्ञानेन्द्र । कप्तानको जिम्मेवारी छाडेपछि पनि उनले मेन्टरको भूमिकामा खेल्दै आएका थिए । ‘ज्ञानु दाइ टिमको मेन्टर हुनुहुन्थ्यो, हामीलाई जस्तोसुकै अवस्थामा सम्हाल्नुहुन्थ्यो । दाइ हुनुहुन्छ भनेपछि ढुक्क हुन्थ्यो’ मल्लको अप्रत्याशित सन्यासले आफू आश्चर्यचकित परेको भन्दै एक खेलाडीले भने ।
राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले पनि मल्लले टिमको शानदार जितका लागि समर्पण र उतारचढावमा मार्गदर्शनको मिसाल कायम गरेको बताउँछन् । ‘तपाईंले जुन निस्वार्थता, त्याग र सहयोग मलाई गर्नुभएको छ, त्यो अमूल्य छ’ सन्यासपछि पनि मैदान भित्र होस् वा बाहिर होस्, मल्लले छाडेको विरासतले सधैं प्रेरित गर्ने भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पूर्वकप्तान पारस खड्काले मल्लसँगै ड्रेसिङ रुम शेयर गर्न पाउनु आफ्नो सौभाग्य भएको बताएका छन् । साथै भनेका छन्, ‘निकट भविष्यमा यो देशका युवा आकांक्षी क्रिकेटरहरूको सपना साकार पार्न तपाईंको ठूलो भूमिका हुनेछ ।’
उनले सन्यासको घोषणा गर्दा विदेशी खेलाडीले पनि उनको प्रशंसा गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । पछिल्लो समय नेपाली टिमसँग निकै परिचित टिम यूएईका अलराउन्डर रोहन मुस्तफाले पनि सामाजिक सञ्जालमा ‘एउटा उत्कृष्ट खेलाडी, सधैं सम्झना हुने’ भन्दै पोष्ट्याएका छन् ।
प्रतिक्रिया 4